वीरगंज । नारायणी अस्पताललाई ५०० शय्या बनाउने सरकारको योजना अहिले अदालतमा विचाराधीन छ । शहरी विकास तथा भवन निर्माण विभागले ५०० शय्याको अस्पताल निर्माणको लागि २०७६/१/८ मा पहिलो पटक बोलपत्र आह्वान गरेको थियो ।
यो बोलपत्रमा ठेकेदार कम्पनीले पेश गरेको कागजातमा भौचरमा नाम फरक भएको भन्दै ठेक्का रद्द गरिएको थियो । र, अर्को बोलपत्र आह्वान गरेको थियो । यो बीचमा ठेकेदार कम्पनीले उच्च अदालतमा रिट दिएको थियो ।
यस्तै अदालतले २०७७/७/१७ मा दोस्रोपटक गरेको बोलपत्र आह्वान रद्द गर्न आदेश गरेको थियो । यो आदेशविरुद्ध शहरी विकास तथा भवन निर्माण विभागले सर्वोच्च अदालतमा २०७७/९/२ मा निवेदन दर्ता गरेको थियो । अहिले यो मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ ।
अस्पतालको भौतिक संरचना निर्माण गर्ने विषयमा विभाग र ठेकेदारबीचको विवादले नारायणी अस्पताललाई ५०० शय्याको बनाउने योजना ओझेलमा परेको छ । दुई अर्ब रुपैयाँको लागतमा ५०० शय्याको अस्पताल बनाउने ठेक्का भएको थियो ।
हाल नारायणी अस्पताल २५० शय्याको स्वीकृत भएर सञ्चालन भएपनि बिरामीको अत्यधिक चापका कारण ४०० शय्यामा सञ्चालन भइरहेको छ । अस्पतालको भौतिक संरचनामा सुधार नभएका कारण अहिले नारायणी अस्पतालको सेवा कारण प्रभावित हुँदै आएको छ ।
५०० शय्याको अस्पताल निर्माण योजनासँगै नारायणी अस्पतालमा निर्मित ५० शय्याको आकस्मिक कक्ष ओझेलमा परेको छ । ५०० शय्याको अस्पताल निर्माण हुने पुरानो महेन्द्र आरोग्य भवनदेखि उत्तरतर्फ ५० शय्याको आकस्मिक कक्ष निर्माण भइसकेको छ तर सञ्चालनमा आउन सकेको छैन ।
सञ्चालनमा आउन नसक्नुको कारण ५०० शय्याको अस्पताल तोकिएको स्थानमा निर्माण नहुनु हो । पुरानो भौतिक संरचना सडकदेखि पूर्व प्रसूतिगृहमा नारायणी अस्पतालको ओपिडी, प्रयोगशाला, भिडियो एक्स-रे, एक्स-रे, आँखा, दन्तबाहेकका सेवा सञ्चालनमा छन् ।
प्रसूतिगृहमा अहिले जनरल, आकस्मिक, प्रसूति, मेडिकल, सर्जिकल, अर्थोपेडिक, बाल, बहिरङ्ग, आइसियू, पिआइसियू, एनआइसियू, सिसियू, डायलासिस, पोषण, जेरियाट्रिक, सिटिस्क्यान, एमआरआई, युएसडी सेवा सञ्चालन छन् ।
धेरैजसो सेवा प्रसूतिगृहमा सञ्चालन भइरहेका र नयाँ भौतिक संरचना पुरानो महेन्द्र आरोग्य भवन रहेको क्षेत्रमा निर्माण गर्ने उद्देश्य रहेकोले अस्पतालको सञ्चालन विधिमा व्यवधान आएको हो ।
अहिले बिरामीहरूले बहिरङ्ग सेवाको लागि सडकदेखि पश्चिमपट्टि पुरानो महेन्द्र आरोग्य भवन रहेको परिसरबाट सेवा लिनुपरिरहेको र भर्नाको लागि सडकदेखि पूर्वतर्फ प्रसूति गृहमा जानुपर्ने अवस्था छ ।
यसैगरी, औषधिको लागि पनि पूर्वतर्फ प्रसूतिगृहमा जानुपर्ने अवस्था छ । भौतिक संरचना एकै ठाउँमा नहुँदा बिरामीहरूलाई सडक वारि र पारी गर्नुपर्ने समस्या छ । सिकिस्त बिरामीहरूको भर्ना क्रममा झनै समस्या हुने गरेको छ ।
सडकपूर्व पुरानो आकस्मिक कक्षमा भर्ना गर्नुपर्ने, भिडियो एक्स-रे, एक्स-रे, प्रयोगशालाको लागि सडकदेखि पश्चिमतर्फ आउनुपर्ने र फेरि भर्नाको लागि प्रसूतिगृहमा जानुपर्ने समस्या रहेको र यस क्रममा कतिपय सिकिस्त बिरामीहरूको मृत्यु पनि भइसकेको छ ।
नारायणी अस्पतालको नयाँ भौतिक संरचना निर्माणको लागि स्थानीय राजनीतिक दलका नेता, जनप्रतिनिधिहरू उदासीन देखिएका छन्, जसले गर्दा अहिलेसम्म यो मुद्दा अदालतमा विचाराधीन छ ।




