काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च बिन्दुमा पुगेको हो । यसअघि गत पुस १२ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो ।
उक्त दिन सुन प्रतितोला १ लाख २२ हजार रूपैयाँमा कारोबार भएको थियो । आज सुन प्रतितोला १ लाख २३ हजार रूपैयाँ पुगेको छ । यो मूल्य पछिल्लो रेकर्डभन्दा एक हजार रूपैयाँ बढी हो ।
अघिल्लो दिन अर्थात् सोमबार स्थिर रहेको सुनको मूल्य आज प्रतितोला दुई हजार रूपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २३ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २२ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार छापावाल सुन प्रतितोला १ लाख २१ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २० हजार ४ सय रूपैयाँमा कारोबार भएको थियो । मंगलबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ ।
यस दिन चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ४५ रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । सोमबार चाँदी प्रतितोला १ हजार ४ सय १० रूपैयाँमा कारोबार भएको थियो ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३५ रूपैयाँ बढेको हो । आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २१ सय १९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।




