काठमाडौं । विराटनगरको नोबेल शिक्षण अस्पतालमा कार्यरत स्टाफ नर्सको हत्या भएको छ । विराटनगर ४ मा डेरा बस्दै आएकी २२ वर्षीया चन्द्रिकाकुमारी दासको शौचालयमा शव फेला परेको हो ।
उनको हत्या भएको देखिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए । धारिलो हतियार प्रहार गरेर हत्या गरेपछि शौचालयमा फालेको अवस्थामा शव भेटिएको हो ।
दासको घाँटी, अनुहारलगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले हानेको गहिरो चोट छ । सिराहाको फुल्काहकट्टी घर भएकी दास अस्पताल नजिक बुढाथोकी मार्गस्थित धीरेन्द्र गिरीको घरमा डेरा बस्दै आएकी थिइन् ।
हत्यामा संलग्नको पहिचान खुल्न बाँकी छ । घटनामा संलग्न हत्यापछि शव छाडेर फरार भएको पाइएको छ । घटनाको अनुसन्धान भइरहेको छ ।




