दमक । झापाको गौरादहमा पछिल्लो समय सहकारी संस्थामा चोरीको घटना बढ्दै गएको छ । गएराति मात्रै अज्ञात समूहले गौरादहको तीन वटा सहकारीमा तोडफोड र नगद चोरी गरेको हो । चोरी गर्नेको पहिचान हुन सकेको छैन ।
गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदीका अनुसार गौरादह ५ स्कुलचौन बजारमा रहेको जनहित सहकारी, महारानीझोडा बचत तथा ऋण सहकारीको चप्रामारी सेवा केन्द्र तथा चप्रामारीकै साना किसान सहकारी संस्थाको कार्यालय तोडफोड गरी नगद चोरी भएको छ ।
यसअघि गत चैत ५ गते राति गौरादह ९ बैगुनधुरास्थित शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्थामा पनि चोरी हुदाँ रु १२ लाख ८७ हजार ६ सय २३ चोरी भएको व्यवस्थापक तिलक कार्कीले बताए । स्कुल चौनको जनहित सहकारीबाट करिव रु ७ लाख सेफमा रहेको र सबै चोरी भएको अध्यक्ष योगेश आचार्यले बताए ।
यसैगरी, सोही स्थानको चप्रामारीको महारानीझोडा सेवा केन्द्रबाट रु ८५ हजार र साना किसान सहकारीबाट रु ५४ हजार चोरी भएको बताइएको छ । नगर प्रमुख सुवेदीसहितको जनप्रतिनिधिको टोलीले आज बिहान घटनास्थल पुगेर त्यस बारे सहकारीका संचालकसँग जानकारी लिएका छन् ।
त्यस क्रममा उनले नगरभित्र सहकारी कार्यालयमा हुँदै आएको चोरी र तोडफोडको घटना नियन्त्रणका लागि स्थानीय प्रशासनको ध्यान जानुपर्ने बताए । एकैरातमा तीन वटा सहकारी संस्थामा चोरी भएपछि स्थानीयले सुरक्षा बढाउन माग राखेका छन् ।




