काठमाडौं । वाइ वाइ चाउचाउ न्यून गुणस्तरको भेटिएएपछि काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई दुई लाख रुपैयाँ जरिवाना गराएको छ ।
सुकेधारामा रहेको एसके इन्टरप्राइजेजले बजारमा वितरण गरेको २०८० मा उत्पादन भएको ब्याच नं. ६० ‘जीएमआरएस २०-एएल/वाईएल२३, चाई’ को चाउचाउ न्यून गुणस्तरको भेटिएको हो ।
यो ब्याचको चाउचाउमा बनाउँदा प्रयोग गरिने तेल न्यून गुणस्तरको रहेको महानगरले जनाएको छ । काठमाडौं महानगरको कृषि तथा पशुपन्छी विभागका प्रमुख डा. अवधेश झा वाइ वाइ चाउचाको प्याकेट खोल्दा ढुसी परेको भेटिएको थियो ।
त्यसपछि सोही ब्याचका अन्य चाउचाउ बजारबाट ल्याएर प्रयोगशालामा परीक्षण गर्दा गुणस्तरहीन पाइएको डा. झाले बताए । “चाउचाउ बनाउनको लागि प्रयोग गर्ने तेल नै गुणस्तरहीन रहेको भेटिएको छ,” डा. झाले भने, “त्यसपछि हामीले जरिवाना तोकेका हौं ।”
महानगरले अब अन्य कम्पनीको चाउचाउ र वाइ वाइको अरु ब्याचको चाउचाउको पनि प्रयोगशालामा परीक्षण गर्ने जनाएको छ । “अहिले उजुरीको आधारमा हामीले वाइ वाइको गुणस्तर जाँच गरेका हौं, अब हामी सबै किसिमको खाद्य सामग्रीको जाँच गर्दै जाने छौं,” डा. झाले भने ।





