धनगढी । कैलालीमा असार १ गतेदेखि बजार खुल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार बिहान ११ बजेसम्म सम्पूर्ण पसल खोल्न सकिने जनाएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले असार १ गतेदेखि सात दिनसम्म सबै पसल खोल्न दिने निर्णय भएको बताए ।
‘सामान खरिद र बिक्रीका लागि जाने क्रममा सवारी साधन भने प्रयोग गर्न पाइने छैन्,’ प्रमुख जिल्ला अधिकारी रिजालले भने, ‘विवाहको लागि यसअघि सम्म सात जना सहभागी हुन पाइने आदेश थियो । अब दुई वटा सवारी साधनमा १० जना सहभागी हुन पाउनेछन् ।’
कैलालीमा कोरोना नियन्त्रण गर्न १६ वैशाखदेखि निषेधाज्ञा जारी गरिएको थियो । विद्यालय लगायत शैक्षिक संस्था, सार्वजनिक यातायात, सभा/गोष्ठी, सम्मेलन, सिनेमा हल, मठ मन्दिर, पार्टी प्यालेस लगायत भिडभाड हुने क्षेत्रमा जारी निषेधाज्ञालाई भने कायम राख्ने प्रशासनले जनाएको छ ।






