काठमाडौं । पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेपनि पानी पर्न सकेको छैन । लामो समयदेखि पानी पर्न नसक्दा वनमा डढेलोसँगै आगलागीका घटना बढेका छन् । आगलागीजन्य घटनाले क्षति बढ्दो छ ।
बुधबार र बिहिबारको तुलनामा काठमाडौंमा शुक्रबारदेखि बिहान र बेलुका केहि शीतल महसुस गरिएको छ । त्यस्तै केहि दिन अघिदेखि तराईका विभिन्न ठाउँमा उच्चतम तापक्रम ४० डिग्री सेल्सियस मापन गरिएकोमा हिजो केहि कम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाडौंमा आज बिहान न्युनतम तापक्रम १५ दशमलव ४ डिग्री सेल्सियस रहेको थियो भने आज अधिकतम तापक्रम २९ देखि ३१ डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान छ । आज दिउँसो लुम्बिनी प्रदेशको तराई क्षेत्रका केहि ठाउँ तथा राति कोशी र मधेस प्रदेशको तराई क्षेत्रका केहि ठाउँमा हुरीबतास चल्न सक्ने महाशाखाको अनुमान छ ।




