काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले राष्ट्रिय परीक्षा बोर्डको उत्तर पुस्तिकासहित चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ परेका विरुद्ध शिक्षा ऐन २०२८ बमोजिम जिल्ला प्रहरी परिसरबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका ६ सरस्वतीनगर कपन बस्ने ३८ वर्षीय माधव त्रिपाठी, दक्षिणकाली नगरपालिका ८ बस्ने १९ वर्षीय सविन पौडेल, कागेश्वर महनरा बस्ने २० वर्षीय सितेशकुमार यादव र काठमाडौं थली बस्ने २३ वर्षीय रोशन रानाभाट रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवम् प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
उनले भने, “हिजो बुधबार बिहान ८ बजेदेखि १० बजेसम्मको चलेको कक्षा १२ को कम्प्युटर साइन्सको परीक्षा अगाडि नै प्रश्नपत्र सार्वजनिक गरी काठमाडौं महानगरपालिका ६ स्थित वेलकम पार्टी प्यालेसको हलमा राष्ट्रिय परीक्षा बोर्डबाट जारी भएको मुल उत्तर पुस्तिकामा उत्तर हल गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो ।”




