काठमाडौं । सरकारले शिक्षकको पारिश्रमिक मासिक रूपमा दिने व्यवस्था मिलाउने भएको छ । मंगलबार आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले उक्त व्यवस्था मिलाइने जानकारी दिएका हुन् ।
शिक्षकको क्षमता अभिवृद्धिका लागि छात्रवृत्ति तथा नेतृत्व विकासको तालिम दिइने सरकारको योजना रहेको छ । त्यस्तै सरुवा बढुवा लगायतका विषयमा एकीकृत सूचना प्रणालीबाट गरिने राष्ट्रपति पौडेलले बताए । शिक्षकहरूले हाल त्रैमासिक रूपमा तलब भुक्तानी पाउँदै आएका छन् ।
यस्तै सरकारले आउँदो आर्थिक वर्ष कृषि दशक घोषणा गर्ने भएको छ । संघीय संसद्को मंगलबार बसेको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले आउदो आर्थिक वर्षलाई कृषि लगानी दशक घोषणा गरिने बताएका हुन् ।
उनले भने- ‘कृषि पशुपन्छिपालन र वनको अन्तरसम्बन्धन स्पष्ट हुने गरी भूउपयोगको आधारमा कृषि प्रणालीको विकास गरिनेछ । आर्थिक वर्ष ०८१/०८२ को दशकलाई कृषिमा लगानी दशक घोषणा गरिनेछ ।’
यसैगरी सरकारले आउँदो आर्थिक वर्षभित्र देशभर रहेका गरिब घर परिवार पहिचान कार्य सम्पन्न गर्ने बताएको छ । राष्ट्रपति पौडेलले भने- ‘पहिचान भइएका गरिबको स्थानीय तहबाट निःशुल्क स्वास्थ्य बिमा गरिने, गरिबको स्थानीय बिमा गरिने तथा विद्यूतीय चुलो, ट्युवेल लगायत सामग्री उपलब्ध गराइनेछ ।’




