काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसले कमिसन खाएर गिरीबन्धु टी-स्टेटको ७० बिघा जग्गा बेचेको आरोप लगाएपछि नेपालको राजनीतिको मोड फेरिने संकेत देखिएको छ ।
गिरीबन्धु टी-स्टेटको बेचिएको भनिएको जग्गा अहिले झापाको बिर्तामोड नगरपालिका ५ र अर्जुनधारा ११ मा पर्दछ । ठूलो भागमा अहिले पनि चियाको बुटा र जंगल नै छ ।
बेचिएको भनिएको जग्गामा अहिले ठूलो मानवीय बसोबास भएको बस्ती, बसपार्क, ठूल्ठूला होटल तथा विभिन्न संस्थाका कार्यालय छन् । ११५३ वटा कित्तामा विभाजन भएको जमिनमा अहिले करिब ४ सय घर परिवार बसोबास गरिरहेका छन् ।
बिर्तामोड ५ र अर्जुनधारा ११ स्थित ५१ बिघा जग्गामध्ये ३८ बिघा जग्गा प्लटिङ गरिएको थियो भने बाँकी खाली नै रहेको छ । प्लटिङमा आवासीय घरसँगै टेकबहादुर गिरी बसपार्क, पाथीभरा इन्जिनियरिङ कलेज, कान्तिपुर ड्राइभिङ सेन्टरजस्ता व्यावसायिक संस्था सञ्चालनमा छन् । त्यही जग्गामा दुई दर्जनभन्दा बढी होटल खुलेका छन् ।
झापाको गिरीबन्धु टी-स्टेटको नाममा रही चिया उत्पादनका लागि उपयोग नभएको जग्गा सरकारीकरण गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । अदालतको फैसलाको पूर्णपाठ सार्वजनिक भएपछि सोही जग्गामा बसोबास गर्नेहरूमा अन्योल छाएको छ ।
यता गिरीबन्धु टी-स्टेटको जग्गाको विषयमा सत्ता साझेदार प्रमुख दल नेकपा एमाले र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सदन र सडकमा आमने सामने हुने निश्चित छ । वास्तविकता के हो ? बिस्तारै खुल्दै जाला । अबको केही दिन सहकारीको विषयसँगै गिरीबन्धु टी-स्टेटको जग्गाको विषयले नेपालको राजनीति तात्ने निश्चित छ ।




