भक्तपुर । भक्तपुर टुर्सले कक्षा ११ र १२ का विद्यार्थीहरुलाई आन्तरिक मुल्याङ्कनको निम्ती गतिविधिहरुमा सहभागी अनिवार्य रहेको भन्दै प्रेस नोट जारी गरेको छ ।
प्रेस नोटमा भनिएको छः क्रियाकलाप ब्यवस्थापन लागत घटाउन र प्रभावकारी अध्यापनको लागि पाठ्यक्रमको नियमित परामर्श हुन अति आवश्यक छ । यही परामर्शको लागि भक्तपुर टुर्सले ‘३३ पोखरी पदयात्रा मार्ग’लाई गन्तब्यको रुपमा छनौट गरेको छ ।
पदमार्गमा रहेका खुल्ला स्थान, फल्चा र मन्दिरमा विद्यार्थी र शिक्षकलाई पाठ्यक्रमका विषय वस्तु छलफल गर्ने केन्द्रको रुपमा विकास गर्ने निर्णय गरिएको र प्रयोगात्मक अभ्यासको पुर्व तयारीको लागि, हाल कक्षा ११ र १२ मा अध्ययन हुने विषयहरुको छलफलको लागि ‘पोखरी परामर्श केन्द्र’ तोकिएको प्रेस नोटमा उल्लेख छ ।
केन्द्रहरुमा हुने नियमित छलफलबाट विद्यार्थी र शिक्षकहरुमा उद्यमशिलता विकासको लागि अति आवश्यक नविनतम सोचको विकास गर्ने लक्ष्य लिइएको उक्त नोटमा उल्लेख छ ।
विषय शिक्षकको रुपमा परामर्श कार्यमा सहभागी हुने शिक्षकहरुले प्रारम्भिक चरणमा तोकिएको पोखरी केन्द्रमा सार्वजनिक बिदाका दिनहरुमा उपस्थित भई २०८१ सालको अध्यापन योजना निर्माण गर्नेछन् ।




