जनकपुरधाम । मधेश प्रदेशमा चालु आर्थिक वर्षको १० महिनामा १८ दशमलव ८ प्रतिशत मात्र खर्च भएको छ । मधेश प्रदेश लेखा नियन्त्रणको कार्यालय जनकपुरधामले मधेश प्रदेश सरकारको कूल बजेट रु ४४ अर्ब ११ करोड ४० लाख ३२ हजारमध्ये उक्त अवधिमा १८ दशमलव ८ प्रतिशतमात्र खर्च भएको जनाएको हो ।
उक्त अवधिमा चालु खर्च तर्फ २४ दशमलव ६४ प्रतिशत अर्थात रु ४ अर्ब ४६ करोड ७४ लाख ६८ हजार तथा पुँजीगत तर्फ १४ दशमलव ४४ प्रतिशत अर्थात रु ३ अर्ब ६९ करोड २१ लाख ८० हजार बजेट खर्च भएको कार्यालयका लेखा अधिकृत मनोज झाले जानकारी दिए ।
मधेश प्रदेशको वर्तमान सरकारमा सम्बन्धित मन्त्रालयमा मन्त्रीको हेरफेर, सचिव लगायत कर्मचारीको अभाव, निमित्तको भरमा मन्त्रालय सञ्चालन हुनु, योजना र बजेट बाँडफाँड लगायत समस्याले लक्ष्य अनुसार विनियोजित बजेट खर्च नभएको उनले बताए ।
चालु आर्थिक वर्षको पूर्ण बजेटमध्ये चालु तर्फ १८ अर्ब ५४ करोड ५८ लाख तथा पुँजीगत तर्फ २५ अर्ब ५७ करोड ७५ लाख ७४ हजार अर्थात ४४ अर्ब ११ करोड ४० लाख ३२ हजार कूल बजेट रहेको सो कार्यालयले जनाएको छ ।
गत आर्थिक वर्षमा कूल बजेटको ६१ प्रतिशतमात्र खर्च भएको थियो । आर्थिक वर्ष सकिन एक महिनामात्र बाँकी रहेकाले यही अवस्थामा यो पटक ५० प्रतिशतसमेत बजेट कार्यान्वयन हुन चुनौती रहेको जानकारहरूको भनाइ छ ।




