काठमाडौं । बाहिरी चक्रपथ विकास आयोजनामा सरकारले हालसम्म १४ करोड ८४ लाख रुपैयाँ खर्च गरिसकेको छ । २०५८ सालमा अवधारणा आएको उक्त आयोजनाको सम्भाव्यता अध्ययनबाहेक केही काम भएको छैन ।
काठमाडौं उपत्यकाका तीनै जिल्लामा नयाँ व्यवस्थित सहर निर्माणका ७२ किलोमिटर लम्बाईको उक्त आयोजनाको अवधारणा ल्याए पनि हालसम्म सम्भाव्यता अध्ययन मात्रै भएको छ । सो बाहेक आयोजनाका लागि आर्थिक वर्ष २०६०/६१ मा जग्गा अधिग्रहणका लागि ५६ अर्ब रुपैयाँ लागत अनुमान गरिएको थियो ।
हाल उक्त लागत ३ खर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ । उक्त आयोजनामा २ जना स्थायी र १० जना करारका कर्मचारीले वर्षेनी तलब, भत्ता खाइरहेका महालेखा परीक्षकको कार्यालयको ६१ औं प्रतिवेदनले औंल्याएको छ ।
कर्मचारीका लागि सेवा, सुविधा, प्रशासनिक लगायतमा हालसम्म १४ करोड ८४ लाख रुपैयाँ खर्च भएपनि भौतिक पूर्वाधार निर्माणको काम नभएको महालेखाको ठहर छ ।




