काठमाडौं । आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपाल, स्कटल्यान्ड र नामिबियाबीच हुने त्रिकोणात्मक सिरिजको मिति तय भएको छ । सिरिज जुलाई २० देखि ३० सम्म स्पेनको अल्मेरियामा रहेको डेजर्ट स्प्रिंग्स क्रिकेट मैदानमा हुने भएको हो । कोरोना महामारीको कारण बेलायत सरकारले रोक लगाएपछि स्कटल्यान्डमा हुनुपर्ने उक्त सिरिज स्पेनमा हुन लागेको हो ।
सिरिजमा तीनै टिमले एकआपसमा दुई पटक खेल्नेछन् । सिरिजका लागि नेपाली टिमले बुधबारदेखि प्रशिक्षण शुरु गर्दैछ । नेपाल ४ खेलमा २ मा जित र २ मा हार सहित ४ अंकका साथ छैटौं स्थानमा छ । ओमान १० खेलमा ८ मा जित र २ मा हार सहित १६ अंकका साथ शीर्ष स्थानमा छ । अमेरिका १२ खेलमा ६ मा जित र ६ मा हार सहित १२ अंक जोड्दै दोस्रो स्थानमा छ ।
स्कटल्यान्ड ८ खेलमा ४ मा जित र ३ मा हार सहित ९ अंकका साथ तेस्रो स्थानमा छ । एक खेल वर्षाको कारण रद्ध भएको थियो । नामिबिया ७ खेलमा ४ मा जित र ३ मा हार सहित ८ अंक सहित चौथो स्थानमा छ । संयुक्त अरव इमिरेट्स ९युएई० ७ खेलमा समान ३ मा जित र ३ मा हार सहित ७ अंक जोड्दै पाँचौं स्थानमा छ । एक खेल रद्ध हुन पुगेको थियो । पपुवा न्युगिनी ८ खेलमा नै हारका साथ अंक विहिन हुँदै पुछारमा छ ।
बन्द प्रशिक्षणको लागि नेपालको टोली :
ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आरिफ शेख, पारस खड्का, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सन्दीप लामिछाने, सोमपाल कामी, कमलसिंह ऐरी, अभिनाश बोहरा, सन्दीप जोरा, साहब आलम, सुशान भारी, शरद भेषावकर, विक्रम सोब र पवन सरार्फ ।






