काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जाने नेपालीहरुलाई बिनाधितो ऋण दिने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्य प्रस्तु गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो घोषणा गरेका छन् ।
त्यसका लागि वैदेशिक रोजगारीमा जानेले बैंकिङ च्यानलमार्फत् रेमिट्यान्स पठाउने सुनिश्चितता भने गर्ने अर्थमन्त्री पुनले बताए । यस्तै सरकारले करिब २ लाख बेरोजगारी व्यक्तिलाई न्यूनतम १०० दिनको रोजगार प्रदान गर्ने घोषणा गरेको छ ।
“प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत स्थानीय तहमा सूचीकृत बेरोजगारलाई सार्वजनिक निर्माण तथा मर्मत सम्भार आयोजनाका काममा सहभागी गराइ करिब २ लाख व्यक्तिलाई न्यूनतम १०० दिनको रोजगार प्रदान गरिनेछ,” उनले भने ।
मंगलबार सङ्घीय संसद्का दुवै सदनसमक्ष आर्थिक वर्ष २०८१/८२ को बजेट पेस गर्दै अर्थमन्त्री वर्षमान पुनले यस बारे जानकारी दिएका हुन् । त्यस कार्यक्रमका लागि ६ अर्ब बजेट बिनियोजन गरिएको पनि उनले बताए ।




