काठमाडौं । सरकारले स्थानीय उत्पादनका रुपमा रहेका फलफूल र सागसब्जीमा लाग्ने मूल्य अभिवृद्धि कर खारेज गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै मंगलबार संसद् बैठकमा यस्तो जानकारी दिएका हुन् ।
अर्थमन्त्री पुनले आलु, प्याज र फलफूलमा लागेको भ्याट खारेज गरिँदा स्थानीय उत्पादनले बढेर आत्मनिर्भरताका लागि सहज हुने बताए । यस्तै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका कर्मचारीहरूको अनिवार्य अवकाश उमेर हद पुनरावलोकन हुने भएको छ ।
आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले अवकाश उमेरलाई पुनरावलोकन गरिने बताएका हुन् । कार्यान्वयनमा रहेको नेपाल प्रहरी र सशस्त्र प्रहरी नियमावली अनुसार प्रहरी महानिरीक्षकहरू ५८ वर्ष उमेर हदले अनिवार्य अवकाशमा जाँदै आएका छन् ।
निजामती कर्मचारीमा भने अनिवार्य अवकाशमा उमेर ६० वर्ष छ । सशस्त्र र नेपाल प्रहरीले पनि ५८ वर्षे उमेर हदलाई परिमाजन गर्दै ६० पुर्याउनु पर्ने लविइङ गर्दै आएका थिए ।




