काठमाडौं । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा दुई दिनसम्म उच्च तापक्रम रहने भएको छ । शुक्रबारसम्म उच्च तापक्रमसहित तातो हावा चल्ने हुँदा सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस भन्दामाथि मापन गरिएको छ । तातो हावाको लहरबाट थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने र बान्ता आउने आदि हुन सक्ने भन्दै बच्न महाशाखाले सुझाव दिएको छ ।
दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ । राति पनि यी स्थानमा मेघगर्जन, चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज साँझ काठमाडौंका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद्का अनुसार आज काठमाडौंमा ३१ डिग्री सेल्सियससम्म तापक्रम पुग्न सक्ने अनुमान गरिएको छ ।




