आजकाल धेरै कुरा बिर्सन थालेको छु । किन भुलक्कड हुँदैछु केही भेउ पाउन सकेको छैन । यसो सोच्छु आजकाल खबरहरू प्रति उति संवेदनशील छैन म । त्यसैले कुनै कुरालाई गम्भीरतापूर्वक मनन गर्दिनँ । यो मेरो कमजोरी भनौं या हेलचेक्रयाई आफै बुझ्न सकेको छैन ।
जुन बेलामा जे सम्झनु पर्ने हो त्यो भुली दिन्छु । जे गर्नुपर्ने छ ती यादहरुबाट पनि टाढा भाग्छन् । आज सम्झनु पर्ने कुरा हप्ता दिनपछि सम्झनामा आउँछ, बिर्सनलायक कुराहरु चाहि दिमागमा आएर घुमिरहन्छ । आजकल किन म यस्तो हुँदैछु आफूले आफैलाई सम्झँदै छक्क पर्छु ।
केही समयअघिको कुरा हो एक युवतीसँग मेरो चिनजान भयो । परिचयपछि मित्रताको सम्बन्ध सुरु भयो । हिजोआज कोसौँ टाढा भएपनि इन्टरनेटको माध्यमबाट सँधै नजिक हुन सकिन्छ । अब अरु के चाहियो, बिहान सबेरदेखि बेलुकी अबेरसम्म कुराकानी हुन्थ्यो । सुरुमा मित्रता अनि केही दिन बितेपछि आत्मीय सम्बन्ध बन्यो ।
आत्मीय भई सकेपछि अझ धेरै कुरा हुन थाल्यो । तपाईबाट सुरु भएको सम्बन्ध तिमीमा । तपाई मलाई राम्रो लाग्छबाट सुरु भएको कुरा तिमी मलाई कहिले प्रेम प्रस्ताव राख्छौं देखि लिएर कहिले विवाह गर्ने भन्ने कुरासम्म गर्न थालिन् उनले । सुरुमा उनले प्रस्ताव राखेपछि छक्क परेको थिए म ।
यी सबै कुरा धेरै दिनको सम्वाद पश्चात सम्भव भएको थियो । त्यसपछि आफूले आफैलाई प्रश्न गर्न थाले- ‘के म पनि प्रेम सम्बन्धमा छु त ?’, ‘के साँच्चै उनले भने जस्तै गरी उनले मलाई प्रेम गर्छिन र ?’, ‘के उ मसँग साँचो हृदयले कुरा गरिरहेकी छिन कि आफ्नो मन बहलाउन र समय बिताउन मात्र कुरा गरिरहेकी छिन् ?’ यस्तै अनेकथरि नचाहिँदा प्रश्नले मन भरिएको थियो मेरो ।
मनमनै आफूलाई प्रश्न गर्न थाले । आखिर प्रेमको परिभाषा के हो ? प्रेम अनुभूति हो कि त्याग ? स्पर्श हो कि अहमता हो ? आखिर प्रेम हो चाहिँ के ?
…..
आज किन किन उनीसँगको पहिलो भेट आँखा अगाडी नाचिरहेछ । प्रकृति वारिसको प्रेमको आनन्दमा झुमिरहेको बेला मेरा आखाँ अचानक एक सुन्दर, मधुर, स्वभाविक एक युवती तर्फ पर्छ । उनी स्वभाविकै शान्त देखिन्थिन् ।
त्यसबखत म कक्षा सकिएपछि कलेज अगाडीको पसलमा बसेर चियाको चुस्की लिइरहेको थिए । त्यही बखत उनीसँग पहिलो भेट भयो । बसिरहँदा कति बेला टिप टिप गर्दै वर्षिएको पानी ठूलो भयो मेसो पाउनै सकिनँ ।
अब गाडी चडेर कोठा जानुपर्ने थियो तर पानी परिरहेकाले हिड्ने कुरै भएन । सायद उनी पनि छाता नभएकाले बसिरहेकी थिइन् । बसिरहँदा उनले कुन बेला मन चोरिन पत्तै भएन । साँच्चै भन्नुपर्दा छुट्टिनै मन नलाग्ने गरी लोभ्याएको थियो उनको उपस्थितिले । तर, फर्कनुको विकल्प पनि थिएन । उही सार्वजनिक यातायातको झंझट सम्झँदै उनीसँग त्यो दिन छुट्टिएँ म । विना कुराकानी १ घण्टाभन्दा बढी समय एकै ठाउँमा विताएका थियौं हामीले ।
सधैंजसो बिहान क्याम्पस गेट अगाडि बसेर चिया पिउनु मेरो दैनिकी जस्तै हुन्थ्यो । त्यो दिन पनि चिया पसलको कुर्सीमा बस्दै एक कप चिया बनाउन अनुरोध गरें । यत्तिकैमा मेरो नजिकै एक युवती आइन् । उनी त्यहि युवती थिइन् जो पानी परिरहेका बेला मसँगै थिइन् ।
उनले मलाई नमस्कार गरिन् । मैले फर्काएँ ।
मैले नचिनेझै गरि सोधें- ‘चिन्न अलि गाह्रो भयो त ?’
उनले हाँस्दै जवाफ फर्काइन्- ‘हामी एउटै कक्षामा पढीरहेका छौं, तपाई र म अस्ती पानी पर्दा पनि यहि बसेका थियौं त ।’
‘ए हो र ? खुसी लाग्यो, त्यसो भए । अब म पनि चिनौं न’, मैले भनें ।
उनले सहजै आफ्नो परिचय दिइन् । यत्तिकैमा मेरो चियाको कप आयो, मैले सोधें, ‘चिया पिउछ्यौ ?’
‘नाइँ म हतारमा छु एउटा काममा तपाईले सहयोग गरिदिनुपर्यो !’ उनले भनिन् ।
‘कस्तो काम भन न, म सकेको गरौंला नि त ! काम बताउँदै गर्दा चिया पनि लिऊँ न’, मेरो कुरामा उनले सहमति जनाइन् । मैले अर्को कप चिया बनाउन अनुरोध गरें ।
‘अँ ! भन त के काम हो ?’
उनले पानीमा भिज्दा विरामी परेकाले कलेजमा आउन नसकेको बताउँदै पढाई के के भयो भन्ने जिज्ञासा राखिन् ।
मैले सबै कुरा बताए र हामी दुवै जना चिया पिइसकेर क्याम्पस भित्र गयौं र मेरो झोलामा रहेको कापी उनलाई दिए । छुट्ने बेलामा मोबाइल नम्बर साटासाट गरेर बिदा भयौं ।
समय बितिरहेको थियो । केही समयपछि उनले कापी फिर्ता गरिन्, त्यसपछि हाम्रो सम्वाद निरन्तर चलिरह्यो ।
एकदिनको कुरा हो । झरि परिरहेको थियो । मसँग छाता थिएन, उनले बोकेकी रहिछिन् । म कलेजको गेटमा बसिरहेको थिए, उनले जाउ भनेर भनिन्, मैले ठिक छ तिमी जादै गर भने ।
उनले पानीमा भिज्नु हुन्न भन्दै थकाइन् पनि । त्यसै बखत अर्की साथी पनि आइन्, उनले पनि जाउ भनिन्, मैले तिमी जाउ न भने । त्यसपछि उनी त फायर भइहालिन् । म बाहेक अरु कुनै केटीसँग नबोल भन्दै उनी मसँग रिसाउन थालिन् । त्यसपछि हामी एउटै छाता ओडेर घरतिर लाग्यौं ।
…..
केहि दिन अघि उनले मेरो मन टुट्यो, म तिम्रो मायाले अघाएँ भन्दै रिसाइन् । सायद यो उनको आवेग थियो । उनले प्रेम प्रस्ताव राख्न अनुरोध गर्दा पनि म चुपचाप थिए ।
भनिन्छ, उ नबोल्दा तिमीलाई फरक पर्छ भने प्रेम प्रस्ताव राख, उ दु:खी हुँदा तिम्रो मन दुख्छ भने प्रेम प्रस्ताव राख, उ खुसी हुँदा उसँगै हाँस्न मन गर्छ भने प्रेम प्रस्ताव राख तर म केहि गर्न सकिरहेको थिइन ।
एक दिन मात्र होइन जिन्दगीभर उसलाई साथ कसरी दिने भन्ने तनावले म उसँग बोल्न सक्ने अवस्थामा थिइन् । उसले विवाहको प्रस्ताव गर्दा समेत म जवाफ दिने ठाँउमा रहिन । अचेल उनले गरेको मेसेजहरु हेरेर पनि नदेखेझै गर्न मन लाग्छ तर पनि नफर्काइ बस्न सक्दिन । समयकै चक्र नै भन्नुपर्छ उनी आज विवाह बन्धनमा बाधिएकी छन् ।
मलाई विर्सिएपनि अन्तिम पटक भेट्न आउन भन्ने आवास कहिले काहि हुन्छ । थाहा छैन समयले कता पुर्याउँछ तर उनले दिएको साथ एवम् मायाको सधै ऋणी रहनेछु । उनले आफ्नो विवाहको निम्तो दिँदा म उनको सामुन्ने पुगे र भने- ‘समयको अगाडी केहि लाग्दैन, हिम्मत गरेर हरेक अवस्थामा रमाउन सिक्नुपर्छ ।’
त्यस बखत मेरा आँखा आसुले भरिएका थिए । सबै सामु आफ्ना पिडा लुकाउँदै, विदा भएको थिए । उनको याद सधैं मेरो मस्तिष्कमा आउनुको कारण उनले म प्रति गरेको सम्मान र प्रेम नै हो । मैले उनको कुरालाई स्वीकार्न नसके पनि उनको प्रेम र सम्मानको लागि सधैं ऋणी नै रहेको महसुस गर्छु । अझै पनि म दोधारमा छु, उनले साच्चै मलाई प्रेम गरेकी हुन् र ?
कहिले काहि आफूले आफैलाई प्रश्न गर्छु । मैले उनको प्रेम बुझ्न नसकेकै हो त ? अरुसँगै संसारको रेसमा दौडिरहेको म, भोलिको सपनाको आशामा आफूलाई संकुचित गर्दै कतै आनन्दरुपी प्रेमको सागरमा रम्न छाडेर विषालु सापको फन्दामा त फसिन ? आखिर के थियो जसले मलाई प्रेम जस्तो पवित्र गंगामा डुबाउन रोक्यो ? के थियो त्यो जस्ले मलाई उनको आखाँमा उनको हरेक यादगार शब्दहरुमा मायाको यशास गराउन दिएन ? गराई हालेपनि आफूलाई अगाडी बढ्न दिएन ? कतै यो सब मेरो पारिवारिक जिम्मेवारी त थिएन ? यसमा यदि तिमी प्रश्न गछौं भने म जवाफ फर्काउन असमर्थ छु । मसँग यसको उत्तर छैन । म मात्रै यस्तो हो वा परिवर्तनशिल संसारमा अरुपनि छन् जस्ले जिवन आफ्नो तरिकाले होइन अनेक संसारिक कुराबाट तय गर्छन् । हुन सक्छ यो मेरो गल्ती थियो ? हुन सक्छ यहि हुनु थियो ? यो त उनलाई थाहा होला भनिन्छ जसलाई सबै कुरा थाहा हुन्छ, उनी एक छन् तर अनेक नाम रुप धर्मबाट पुजिने गर्छन्, भगवान् ।




