काठमाडौं । सिधा कुरा डटकमले प्रकाशित गरेको अडियो फर्जी भएको पुष्टि भएको छ । सर्वोच्च अदालतको आदेशअनुसार प्रहरीको साइबर ब्यूरोले गरेको अनुसन्धानले उक्त अडियो नक्कली रहेको प्रमाणित भएको हो ।
अडियो बनाउने राजकुमार तिमिल्सिनाले बिहान रेकर्ड गरेर साझ सिधाकुरालाई पठाएको प्रहरीले सर्वोच्चमा पेश गरेको रिपोर्टमा उल्लेख भएको सहायक प्रवक्ता गोविन्दप्रसाद घिमिरेले जानकारी दिए ।
उनले भने, ‘रिपोर्टले अडियो सही होइन भन्ने भएको छ । भनिएको समय, ठाउँ र व्यक्तिहरुले अडियोमा सहभागी नभएको पाइएको छ ।’ अवहेलना मुद्दाको पेशी आउँदो जेठ २७ गतेका लागि तोकिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्टिङ अपरेशनसँग जोडिएको मुद्दा हारजित गराउन सर्वोच्चका न्यायाधीशसहित बैठक बसेको भन्दै सिधाकुरा डटकमले समाचार र अडियोसामग्री प्रकाशन गरेको थियो ।




