बीबीसी । नेपालमा मनसुन सुरु हुन झन्डै एक साता बाँकी रहँदा अधिकारीहरूले मुख्य राजमार्गमा बाढीपहिरोका कारण हुन सक्ने अवरोधका लागि आवश्यक तयारी गर्न थालिएको बताएका छन् । तर यस वर्ष सरदरभन्दा ५५ प्रतिशतसम्म वर्षा हुन सक्ने प्रक्षेपण भइरहँदा चुनौती थपिन सक्ने चिन्ता रहेको उनीहरूले स्वीकारेका छन् ।
देशका मुख्य राजमार्ग व्यवस्थापनका लागि जिम्मेवार सडक विभागका प्रमुखले वर्षायाममा यस पटक पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गतको नारायणगढ-बुटवल खण्ड, सिद्धार्थ राजमार्गको सिद्धबाबा खण्ड, अरनिको राजमार्गका धेरै भाग, पृथ्वी राजमार्गका विभिन्न खण्ड तथा मेची राजमार्ग बढ्ता जोखिममा रहेको बताएका छन् ।
“पूर्वाधारका हिसाबले सबै सुरक्षित नै छन् । तर भवितव्य हुने अवस्थामा हामी तयारी भएर बस्नुको विकल्प छैन,” विभागका महानिर्देशक सुशीलबाबु ढकाल भन्छन् । “मनसुन सम्बन्धी एउटा आपत्कालीन योजना बनाएर करिब २६० उपकरणहरू जोखिमयुक्त क्षेत्रमा पुर्याउने अन्तिम तयारी गरिएको छ ।”
खास गरी निर्माण अधुरा रहेका सडकमा समस्या बढी देखिन सक्ने अधिकारीहरूको आकलन छ । यस वर्षको मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना बनाउने क्रममा समेत रणनीतिक सडकहरू जोखिममा रहेको कुरा गम्भीर रूपले सोचिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ताले जनाएका छन् ।
प्रवक्ता डिजन भट्टराई भन्छन्, “ती रणनीतिक बाटाहरू हाम्रा लाइफलाइन हुन् ।त्यसको अवरोध हुनु भनेको हाम्रो जनजीवन कष्टकर बन्दै जानु हो भन्ने सोचेर एकीकृत प्रयास गर्ने कुरा भएको छ ।”
कस्तो छ समस्या ?
सडक विभागका अधिकारीहरू बर्खा सुरु हुन लागेसँगै सडक निर्माण र मर्मत भइरहेका ठाउँमा माटो खन्ने, भित्ता काट्नेजस्ता काम नगरीकन त्यसमा लाग्ने स्रोत अन्यत्र परिचालन गर्न निर्देशन दिएको बताउँछन् ।
“त्यस अवधिमा प्रीकास्ट अर्थात् बनिबनाउ सामग्री ल्याएर राख्ने, सबबेस अर्थात् कालोपत्रमुनिका आधार बनाउने तर सडकलाई झन् जोखिमयुक्त बनाउने काम नगर्ने भनेर स्पष्ट निर्देशन दिइएको छ,” महानिर्देशक ढकाल भन्छन् ।
“बर्खामा यसै पनि समस्या त आउँछन् नै । निर्माण भइरहेका ठाउँमा केही थप चुनौती थप हुन सक्छन् । तर छोटो समयमा देखा पर्ने समस्या र अवरोध खोल्नका लागि तयार भएर बस्ने भन्ने छ ।”
तर पूर्वपश्चिम राजमार्गको नारायणगढ-बुटवल खण्डमा पर्ने दाउन्नेको दुई लेनको साँघुरो बाटोमा गाडीहरू फस्दा वा पहिरो जाँदा अवरोध खुलाउन समेत समस्या हुने गरेको अधिकारीहरूको भनाइ छ ।
प्राधिकरणका प्रवक्ता भट्टराईले सामान्य वर्षाले सिर्जना गर्ने अवरोधका हकमा केही घण्टाभित्रै खुला गर्ने गरी सम्बन्धित निकायहरूले काम गरिरहेको जानकारी दिएको बताउँछन् ।
“त्यसको लागि उपलब्ध सरकारी स्रोतसाधनको अधिकतम उपयोग गर्ने गरी परिचालन गर्ने भन्ने छ ।” त्यस्तो ठाउँमा उपकरणहरू मात्र नभएर ट्राफिक व्यवस्थापनका दृष्टिले समेत योजना बनाइएको उनीहरूको भनाइ पाइन्छ ।
सडक विभागका महानिर्देशक ढकाल थप्छन्, “यस वर्षामा दाउन्ने क्षेत्र अलि बढी संवेदनशील हुन्छ कि भन्ने हामीलाई लागिरहेको छ । अहिले सडक विस्तार भएर होइन, अरू बेला पनि दाउन्नेलाई हामीले अलि बढ्तै ध्यान दिन्थ्यौँ ।”
अधकल्चो सडक
नारायणगढ-बुटवल सडक खण्डमा दुई पटक म्याद थप गरिए तापनि त्यहाँ आधाजसो मात्र भौतिक प्रगति भएको अवस्था छ । उक्त सडकमा धेरैतिर पुल निर्माणको कामसमेत अधकल्चो अवस्थामै रहेको पाइन्छ ।
प्रीमनसुनको छिटपुट वर्षाकै क्रममा समेत त्यहाँका उकालोओरालो बाटोमा गाडीहरू फस्ने र घण्टौँ जाम हुने अवस्था देखिने गरेको छ । मुग्लिङ-पोखरा खण्डको पूर्वी खण्डको म्याद वैशाखमै सकिएको छ तर त्यहाँ झन्डै ५६ प्रतिशत भौतिक प्रगति भएको अवस्था छ ।
उक्त सडकको पश्चिम खण्डमा पाँच भागको एक भाग पनि काम हुन सकेको छैन । नयाँ आर्थिक वर्षको बजेटमा यी दुवै सडक खण्डका काम एक वर्षभित्र सकिने भनिए तापनि सरकारी अधिकारीहरूले नै त्यसका लागि अहिलेकै जस्तो रफ्तारले नभ्याउने बताउँछन् ।
त्यसैगरी मुग्लिन-नौबिसे सडकको पहिलो खण्डमा पर्ने नौबिसे-खानीखोला क्षेत्रमा केही काम भए पनि बाँकी दुई खण्डमा निर्माण कामले गति लिन सकेको छैन । उक्त सडक खण्डमा समेत गत वर्ष पुल बगाएर समस्या देखा परेको थियो ।
विभागका महानिर्देशक ढकाल भन्छन्, “नदीहरूमा समस्या हुँदाको अवस्थाका लागि हाल विभागसँग एक दर्जनजति बेली ब्रिजहरू छन् । दुई हजार मिटरसम्मको बेलीब्रिज हामीसँग रहनुपर्छ भनेर कुरा राखिए पनि त्यो हुन सकिरहेको छैन ।”




