काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय अन्तर्गतको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले विद्यार्थीलाई नि:शुल्क विद्युतीय चुलो वितरण गर्ने भएको छ । एक सूचना जारी गर्दै केन्द्रले काठमाडौं उपत्यकामा कोठा भाडामा लिई स्नातक वा सोभन्दा माथिल्लो तहमा अध्ययनरत विद्यार्थीलाई चुलोका लागि आवेदन दिन अनुरोध गरेको छ ।
एलपी ग्यासको बढ्दो मूल्यको समस्यामा राहतको महसुस गराउन र विद्युतीय चुलोको पनि प्रवर्द्धन गर्न यो अभियान सञ्चालन गरिएको केन्द्रले जनाएको छ । आवेदन दिनका लागि विद्यार्थीले नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि, शिक्षण संस्थाको सिफारिस र विद्यार्थी परिचयपत्रको प्रतिलिपि बुझाउनु पर्ने हुन्छ ।
केन्द्रका अनुसार अति दुर्गम र दुर्गम स्थानबाट आएका विद्यार्थी विद्युतीय चुलोका लागि प्राथमिकतामा पर्नेछन् । यसअघि केन्द्रबाट विद्युतीय चुलो पाएका विद्यार्थीको माग स्वतः खारेज हुने केन्द्रले जनाएको छ ।




