काठमाडौं । नेपाली बजारमा आज बिहीबार सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ । लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।
यसअघि गत मंगलबार हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो । उक्त दिन सुन प्रतितोला १ लाख ४२ हजार ७ सय रूपैयाँमा कारोबार भएको थियो । आज सुन प्रतितोला १ लाख ४४ हजार रूपैयाँ पुगेको छ । यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला १ हजार ३ सय रूपैयाँ बढी हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४४ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ४३ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार छापावाल सुन प्रतितोला १ लाख ४२ हजार २ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ४१ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो । बुधबारको तुलनामा भने बिहीबार सुनको भाउ प्रतितोला १ हजार ८ सय रूपैयाँ बढेको हो । त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि बढेको छ ।
बुधबार प्रतितोला १ हजार ८ सय २५ रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार प्रतितोला १ हजार ८ सय ५० रूपैयाँमा किनबेच भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २५ रूपैयाँ बढेको हो । आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २ हजार ३ सय ६९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।




