काठमाडौं । विश्व ब्रेन ट्युमर दिवसका अवसरमा वीर अस्पतालमा एक महिना ब्रेन ट्युमरको शल्यक्रिया नि:शुल्क गरिने भएको छ । नेशनल ब्रेन ट्युमर सेन्टरका अध्यक्ष तथा वीर अस्पतालका न्युरो सर्जन विभाग प्रमुख प्रा.डा. राजीव झाले विज्ञप्ति मार्फत् उक्त घोषणा गरेका हुन् ।
अस्पतालमा ब्रेन ट्यूमरको उपचारका लागि आउनु हुने बिरामीहरूलाई अप्रेशन शुल्कमा शत प्रतिशत छुट दिने व्यवस्था गरिएको प्रेस विज्ञप्ति मार्फत जानकारी गराएको छ ।
ब्रेन ट्युमर डे हरेक वर्ष जुन ८ का दिन मनाइन्छ । वीर अस्पतालले पनि दिवसको अवसर पारेर प्रभातफेरीको आयोजना गरेर मनाइएको थियो ।
ब्रेन ट्यूमरबाट प्रभावित भएका व्यक्तिहरू, तिनका परिवार र समाजमा यससँग सम्बन्धित कुराहरूको बारेमा अझ बढी जानकारी दिनका लागि उक्त कार्यक्रम गरिएको डा. झाले बताए ।
ब्रेन ट्यूमर सम्बन्धि लक्षणहरू, यसका जोखिमहरू समयमा पहिचान गर्ने र समयमै उपचारको पहल गर्ने हो भने रोगबाट पर्ने प्रभाव असर, यसबाट हुन जाने शारीरिक र मानसिक दुर्बलतालाई कम गर्न सकिने डा. झाले बताए ।




