काठमाडौं । तत्कालीन सेन्चुरी कमर्सियल बैंकका पूर्वअध्यक्ष राजेश श्रेष्ठसहित ८ जना पक्राउ परेका छन् । बैंकको ऋण प्रवाहका क्रममा अनियमितता गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको हो ।
यसअघि सो प्रकरणमा प्रहरीले बैंकका पूर्वसीईओ तुलसीराम गौतम र पूर्वसीईओ मनोज न्यौपानेसहित १० जनालाई पक्राउ गरिसकेको छ । तत्कालीन सेञ्चुरी बैंकले देउराली बहुउद्देश्यीय सहकारीका अध्यक्ष रवीन्द्र चौलागाईं र उनका परिवारको लगानीका चारवटा कम्पनीमा ऋण लगानी गरेको थियो ।
त्यसमा करिब ८० करोड रुपैयाँ मात्रै पर्ने धितो राख्दा चौलागाईंलाई सेञ्चुरीले २ अर्ब २५ करोड रुपैयाँ ऋण दिएको खुलेको थियो । कमसल धितोमा अधिक कर्जा लगानी गरेको भेटिएपछि १० जना पक्राउ परेका थिए । यस सम्बन्धी अनुसन्धान सीआईबीले गरिरहेको छ ।




