काठमाडौं । वन तथा वातावरण मन्त्रालयअन्तर्गत वन पैदावार विकास समितिका १ सय ९४ कर्मचारीले सात महिनादेखि तलब नपाएको गुनासो गरेका छन् ।
समिति मातहतका सागरनाथ वन विकास परियोजना सर्लाही, रतुवामाई वृक्षरोपण आयोजना केरखा झापा र समितिमा कार्यरत कर्मचारीले तलब नपाएको गुनासो गरेका हुन् ।
समितिका ९ जना, सागरनाथ वन विकास परियोजनाका १ सय ४३ र रतुवामाई वृक्षरोपण आयोजनाका ४२ कर्मचारीले तलब नपाएको नेपाल निजामती कर्मचारी सङ्गठन सागरनाथ वन विकास परियोजना, सर्लाहीका अध्यक्ष छत्रबहादुर लामाले जानकारी दिए ।
उनका अनुसार समिति मातहतका परियोजनाका साथै आयोजना क्षेत्रमा उत्पादित वन पैदावार बिक्री नहुँदा कर्माचारीहरूले गत मङ्सिरदेखि तलब नपाएका हुन् । अवकाश लिएका १८ कर्मचारीले समेत उपदान बापतको रकम पाएका छैनन् ।




