काठमाडौं । यशोदा फुड्सले आफ्नो उत्पादनको गुणस्तरमा विशेष सजगता अपनाउँदै आएको र स्वच्छ व्यापारिक प्रतिस्पर्धाबाट अगाडि बढ्न चाहेको जनाएको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै यशोदा फुड्सले उक्त जानकारी दिएको हो ।
हालैका दिनमा केही व्यक्तिहरूले सामाजिक सञ्जालको दुरुपयोग गरी कपोलकल्पित समाचार बनाएको पाइएको भन्दै यसमा उद्योगको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ । कम्पनीले कुनै कपोलकल्पित फण्डा तयार गरी आमउपभोक्ताको भावनामा खेलबाड नगरेको, गर्न नचाहेको र त्यस्ता तत्त्वहरूप्रति सचेत रहेको बताएको छ ।
केही दिन अघि गोरखामा चाउचाउमा किरैकिरा भेटिँदा खोलेको चाउचाउको कम्पनीले जिम्मा नलिने गैरजिम्मेवार जवाफ दिएको यशोदा फुड्सले करेन्ट चाउचाउ उत्पादनमा अर्को कम्पनीको ट्रेडमार्क नै चोरेको भन्दै संचार माध्यममा समाचार प्रकाशित भएको थियो ।





