काठमाडौं । विशेष अदालतले पूर्व राजपरिवारका सदस्य एवम् ज्वाइँ स्वर्गीय कुमार खड्गविक्रम शाहको नाममा आएको जनकपुरको सरकारी जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा लागेका ३१ जनालाई सफाइ दिएको छ ।
बुधबार न्यायाधीश टेकनारायण कुँवर, मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले सबै प्रतिवादीलाई सफाइ दिँदै उक्त जग्गा फिल्डवुक समेतमा सरकारी कायम भएको देखिएको भन्दै पुनः सरकारकै नाममा आउने फैसला सुनाएको हो ।
‘प्रतिवादीहरको उक्त कार्यमा कुनै बदनियत रहेको नदेखिंदा सबै प्रतिवादीहरूले सफाइ पाउने,’ विशेष अदालतले तयार पारेको रायमा भनिएको छ, ‘उल्लेखित विवादको जग्गा सरकारी सार्वजनिक जग्गा रहेको फिल्डबुक समेतका मिसिल प्रमाणबाट पुष्टि हुन आएकाले जफत भई नेपाल सरकारको नाममा दर्ता कायम हुने ठहर्छ ।’
धनुषाको पिडारी चोक र रत्नसागर मन्दिरको जग्गा व्यक्तिको नाममा दर्ता गरेको आरोपमा अख्तियारले ९ भदौं २०७९ मा शाहसहित गुठी संस्थान र मालपोत कार्यालयका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै अख्तियारले २९ करोड ८८ लाख ८१ हजार ४३७ रुपैयाँ ५० पैसा बिगो माग दाबी गरेको थियो । धनुषाको पिडारी चोकमा रहेको रत्नसागर मन्दिरको नामको जग्गा कुमार खड्गविक्रम शाहको नाममा दर्ता भएको थियो ।




