काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले यस वर्षको मनसुन प्रणाली आजबाट देशभर फैलिएको जनाएको छ । हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
ती प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । महाशाखाले मनसुन बुलेटिन निकालेर मनसुन देशभर फैलिएको जानकारी दिएको हो । नेपालमा यस वर्षको मनसुन औसत मितिभन्दा तीन दिन छिटो गरी गत जेठ २८ गते कोशी प्रदेशको पूर्वी भागमा प्रवेश भएको थियो ।
साथै असार ६ गते कोशी प्रदेशका बाँकी भूभाग, मधेस, बागमती, गण्डकी प्रदेशका अधिकांश भूभागमा र लुम्बिनी प्रदेशका पूर्वी भूभागमा आगमन भएको थियो । यस वर्ष नेपालभर मनसुन फैलिन १५ दिन लागेको महाशाखाले उल्लेख गरेको छ ।
मनसुनी प्रणालीलाई महाशाखाले निरन्तर अनुगमन गरिरहेको छ । सोही अनुसार नियमित रुपमा मनसुन बुलेटिन जारी गर्ने जनाएको छ । मनसुनको समयमा बाढी, पहिरो, डुबान, भूक्षय, बाटो हिलाम्य हुने तथा गेग्रान बहावजस्ता प्रभाव देखिने भएकाले सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ ।




