काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामै ७ सय ९४ सेवामा कार्यरत निजामती कर्मचारीले जागिरबाट विदा लिएका छन् । चालु आर्थिक वर्ष ८०/८१ को पछिल्लो ११ महिनामा ७९४ निजामती कर्मचारीले सेवावधि बाँकी रहँदै राजीनामा बुझाएका हुन् ।
किताव खानाको रेकर्डमा सुरुदेखि अहिलेसम्म १६ हजार १९३ कर्मचारीहरूले जागिरी अवधि बाँकी रहँदै राजीनामा बुझाएका छन् । जसमध्ये यही आर्थिक वर्षमा मात्र झण्डै ८ सय कर्मचारीले सेवा अवधि बाँकी छँदै राजीनामा बुझाएर हिडेका हुन् ।
सेवावधि बाँकी रहँदै राजीनामा गर्नेहरूमा माथिल्लो तहका कर्मचारीहरू पनि छन् । त्यसमा विशिष्ट श्रेणी (सचिवसरह) का सात कर्मचारी छन् ।सहसचिवस्तरका ८ कर्मचारीले राजीनामा गरेका छन् ।
यसैगरी उपसचिवसरहका ४९ जना र अधिकृत सरहका ६९ जनाले सेवावधि नसकिँदै राजीनामा गरेका हुन् । निजामती सेवामा प्रवेश गर्नेहरूले सचिवको ५ वर्षे कार्यकाल र मुख्य सचिवको ३ वर्षे कार्यकाल बाहेकको अवस्थामा ५८ वर्षसम्म जागिर खान पाउँछन् ।
किताव खानाका अनुसार सेवावधि बाँकी रहँदै राजीनामा गर्नेमा सबैभन्दा बढी श्रेणीविहीन कर्मचारी कार्यालय सहयोगी, हुलाकी, वन रक्षक, सवारी चालक, माली लगायत छन् ।
विभिन्न कठिन ढोकाहरु पार गरेर सरकारी सेवामा प्रवेश गरेका नेपाल प्रहरी, नेपाली सेनाझैं निजामती कर्मचारीहरुले समेत राजीनामा दिएर हिड्न थालेका छन् ।




