काठमाडौं । भारी वर्षापछिको बाढी पहिरो लगायत विपद्का कारण मुलुकका विभिन्न १९ ठाउँमा राजमार्ग पूर्णरुपमा अवरुद्ध हुन पुगेको छ । सोमबार साँझ ६ बजेसम्मको विवरण अनुसार अवरुद्ध रहेका १४ स्थानमा भने एकतर्फी रूपमा सडक सञ्चालनमा ल्याइएको छ ।
ती सडकका पहिरो पन्छाएर तथा खोलेको बाटो मर्मत गरेर एकतर्फी सञ्चालन गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।
उनका अनुसार कालिकोटको कर्णाली राजमार्ग, सुर्खेतको मदन भण्डारी राजमार्ग, सिमकोट हुम्लाबाट नाम्खा जानेबाटो, जाजरकोट सडकखण्ड, कर्णाली करिडोर, सुर्खेत-दैलेख सडकखण्ड, कञ्चनपुरस्थित पूर्वपश्चिम राजमार्ग पूर्णरुपमा बन्द छ ।
यस्तै रोल्पाको सहिद राजमार्ग, रिडि-बाग्लुङ सडकखण्ड, स्याउलीवास-बाग्दुम्ला, चामे-बेँसीशहर लगायतका सडकखण्ड अवरुद्ध रहेका प्रहरी प्रधान कार्यालयले जनाएको छ । यस्तै सङ्खुवासभाको कोशी राजमार्ग पनि बन्द नै रहेको जनाइएको छ ।
पहिरोका कारण अवरुद्ध म्याग्दीको बेनी-दरबाङ सडक तीन दिनपछि सञ्चालनमा आएको छ । अन्य विभिन्न जिल्लाका १४ स्थानमा पूर्ण रूपमा अवरुद्ध रहेकामा एकतर्फी सञ्चालन गरिएको प्रहरी प्रधान कार्यालयले आज साँझ विवरण सार्वजनिक गरेको छ ।
प्रहरीका अनुसार विभिन्न २७ जिल्लाका सडकमा विपद्बाट प्रत्यक्ष असर पुगेको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका ६ नगरकोटमा पहिरोले अवरुद्ध सडक आज सशस्त्र प्रहरीले पुनः सञ्चालनमा ल्याएको छ ।




