काठमाडौं । सर्वोच्च अदालतले मर्यादाक्रम अनुसार कर्मचारीको तलब समायोजन गर्ने परमादेश दिएको छ । यही असार १० गते न्यायाधीशद्वय मनोजकुमार शर्मा र सुनिलकुमार पोखरेलको इजलासले निजामती सेवाका राजपत्राङ्कित प्रथम, द्वितीय, तृतीय श्रेणीका कर्मचारीहरूको आधारभूत तलबमान समान मर्यादाक्रममा रहेका अन्य सरकारी सेवाका कर्मचारी सरह हुने गरी निर्धारण गर्न परमादेश दिएको थियो सो अनुसार पूर्ण पाठ हिजो सार्वजनिक भएको हो ।
अदालतको आदेश अनुसार तलबमान समायोजन साउन १ गतेदेखि नै लागु हुनेछ । समान मर्यादाक्रममा रहेका तर अन्य सरकारी सेवाको भन्दा कम तलब रहेको कर्मचारीको तलब समायोजन गर्न सर्वोच्चको आदेशसँगै अधिकृतदेखि सहसचिवसम्मको तलब बढ्ने छ ।
सर्वोच्चको फैसलासँगै असमान मर्यादाक्रममा रहेका शाखा अधिकृतदेखि सहसचिवसम्मको तलब बढ्नेछ । मर्यादाक्रममा शाखा अधिकृत वा सो सरहका अन्य कर्मचारीको सुरु तलबमान ४३ हजार ६८९ रुपैयाँ छ । यस्तै उपसेनानीको तलब ४५ हजार १०३ रुपैयाँ रहेको छ ।
समान मर्यादाक्रममा रहेका निजामती सेवा उपसचिवको सुरु तलब ४८ हजार ७३७ रुपैंया रहेको छ । सोही मर्यादाक्रमका सुरक्षा निकायमा ५२ हजार २७९ रुपैयाँ छ । यस्तै सहसचिव मर्यादाक्रमको १६ औँ स्थानमा छन् । उनीहरुको सुरु तलब ५६ हजार ७८७ छ तर १७ औँ नम्बरमा रहेका सुरक्षाकर्मीहरुको तलब ६० हजार ९५० छ ।
मर्यादाक्रम अनुसार तलब समायोजन हुँदा कम्तिमा अधिकृतहरुको तलब ३ हजारदेखि ४ हजार ५ सयसम्मले बढ्नेछ । सर्वोच्चको यो आदेशसँगै राजपत्राकिंत र राजपत्राअनंकित कर्मचारीहरुबीचको तलबमानमा ठूलो अन्तर पर्ने देखिएको छ ।




