काठमाडौं । गायक योगेश्वर अमात्यको जग्गा कीर्ते गरी नक्कली ऋण लिने ८ जना दोषी ठहर भएका छन् । आइतबार विशेष अदालतले उनीहरुलाई दोषी ठहर गर्दै १ देखि ४ वर्षसम्मको कैद सजाय सुनाएको हो ।
जस अनुसार २ जनालाई ४–४ वर्षको सजाय तोकिएको छ । साथै सोही घटनामा संलग्न थप २ जनामाथि २ वर्ष र ४ जनामाथि एक वर्षको दरले कैद सजायको फैसला भएको विशेष अदालतले जनाएको छ ।
आज विशेष अदालतका सदस्यहरू डा. खुसीप्रसाद थारु, तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले ५ जनालाई ७ करोड ६० लाख र ४ जनालाई ३ करोड ८० लाख रुपैयाँका दरले जरिवाना समेत गरेको हो ।
त्यस्तै, उविन्दराज शाक्य र रेशमबहादुर सिलवाललाई ४ वर्षका दरले कैद सजायको फैसला गरेको हो भने मुक्तिनाथ गौतम र एसकुमार महर्जनलाई दुई दुई वर्षका दरले कैद फैसला भएको छ ।
रामप्रसाद अधिकारी, ईश्वर पोखरेल, शोभा शाक्य र कुशन प्रधानलाई एक एक वर्षका दरले कैद हुने भएको छ । नक्कली कागजातका आधारमा ऋण लिएको र त्यो रकम दुरुपयोग गरेको आरोपमा उनीहरूमाथि मुद्दा चलेको हो ।
उनीहरूविरुद्ध १९ करोड बिगो कायम गरेर मुद्दा दायर भएको थियो । अमात्यको १२ बिघा जग्गाको कीर्ते गरेर ऋण लिएको आरोपमा सीआईबीले अनुसन्धान गरेको थियो । त्यसपछि सम्पत्ति शुद्धीकरण विभागले पनि मुद्दा चलाएको थियो ।




