काठमाडौं । त्रिशूलीमा बेपत्ता भएका थप एक जनाको शव ८ औं दिनमा भारतमा फेला परेको छ । शुक्रबार साँझ भारत पश्चिम चम्पारण बगाहास्थित नहरमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले एक जनाको शव भेटाएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
उनको शव लिन सशस्त्र प्रहरी गएको छ । शवको सनाखत हुन सकेको छैन । शव नेपाल ल्याउन एसएसबीसँग समन्वयका लागि सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट त्रिवेणीका सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ५ जनाको टोली खटिएको सहप्रवक्ता थापाले बताए ।
यसअघि अरु दुई जनाको शव पनि भारतस्थित पश्चिम चम्पारणमा भेटिएको थियो । त्रिशूलीमा बेपत्ता भएका २५ जनाको शव फेला परेको छ । ती मध्ये १५ जनाको मात्रै सनाखत भएको छ । अरु १० जनाको सनाखत गर्ने प्रयास गरिरहेको प्रहरीले जनाएको छ ।
असार २८ गते चितवनको भरतपुर महानगरपालिका २९ स्थित सिमलतालबाट काठमाडौंबाट गौर जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स र वीरगन्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स त्रिशूलीमा खसेका हुन् । दुई बसमा रहेका ६५ जना मध्ये ६२ जना बेपत्ता भएका थिए । तीन जना भने बाँच्न सफल भएका छन् ।




