काठमाडौं । बितेको एक वर्षमा तराईका जिल्लाहरुबाट सबैभन्दा धेरै वैदेशिक रोजगारीमा गएको देखिएको छ । यस्तै हिमाली जिल्लाबाट भने सबैभन्दा कम गएका छन् । वैदेशिक रोजगार विभागका अनुसार सबैभन्दा धेरै वैदेशिक रोजगारीमा जानेमा धनुषा सबैभन्दा अगाडी छ भने झापा दोस्रो जिल्ला रहेको छ ।
आर्थिक वर्ष ०८०/८१ मा धनुषाबाट ३९ हजार १०७ जना र झापाबाट ३४ हजार ३६२ जना वैदेशिक रोजगारीमा गएका छन् । त्यस्तै धनुषा र झापापछि वैदेशिक रोजगारीमा धेरै जाने जिल्लामा मोरङ, सिराह, महोत्तरी, सुनसरी, रुपन्देही, सर्लाही र सप्तरी रहेका छन् ।
विभागका अनुसार मोरङमा ३१ हजार ९७ जना रोजगारीका लागि बाहिरिएका छन् ।
यस्तै सिराहमा ३० हजार ९३०, महोत्तरीमा २७ हजार ३५०, सुनसरीमा २३ हजार ९४९, रुपन्देहीमा २३ हजार ६०६, सर्लाहीमा २१ हजार २४३, सप्तरीमा २० हजार ४६० जना वैदेशिक रोजगारीमा गएका छन् ।
यो नयाँ र पुरानो श्रम स्विकृति लिने दुवैको संख्या हो । यी जिल्लाहरुबाट रोजगारीका लागि सबैभन्दा धेरै युएइ, साउँदी, मलेशिया गएका छन् । त्यस्तै वैदेशिक रोजगारीमा सबैभन्दा कम जाने जिल्लामा हिमाली जिल्ला रहेका छन् ।
मनाङबाट १७९, मुस्ताङबाट २५९, मुगुबाट ५३७, हुम्लाबाट ५६१ र डोल्पाबाट ५१२ वैदेशिक रोजगारीमा गएको विभागको तथ्याङ्क छ । यो नयाँ र पुरानो श्रम स्विकृति लिने दुवैको संख्या हो । गत आर्थिक वर्ष ०८०/८१ मा ७ लाख ४१ हजार नेपाली विदेश गएका छन् ।




