काठमाडौं । नेपालको राहदानीको विश्व वरियतामा सुधार आएको छ । विश्वका राहदानी र्याङ्किङ संस्था हेन्ले एन्ड पार्टनर्सले जारी गरेको २०२४ को विश्वको सबैभन्दा शक्तिशाली राहदानीको वरियता सूचीमा नेपालको राहादानी ९८ औं स्थानमा रहेको छ ।
यसअघि नेपालको राहदानी ३८ अंकसहित १०३ स्थानमा रहेको थियो । यस वर्ष नेपाल ३९ (अर्थात ३९ देशमा अग्रिम भिसा लिनु पर्दैन) अंकसहित ९८ औं स्थानमा आएको छ । यस सूचीमा जापानलाई उछिन्दै सिंगापुर शिर्ष स्थानमा आएको छ ।
सिंगापुर १९५ अंकसहित शिर्ष स्थानमा छ भने १९२ अंकसहित दोस्रो स्थानमा फ्रान्स, जर्मनी, जापान, इटाली र स्पेन रहेका छन् । त्यस्तै यस सूचीमा बेलायत १९० अंकसहित चौथो स्थानमा छ भने अमेरिका १८६ अंकसहित आठौं स्थानमा छ ।
त्यसैगरी छिमेकी देश चीन ८५ अंकसहित ५९ औ स्थानमा छ भने भारत ५८ अंकसहित ८२ औ स्थानमा रहेको छ । यस सूचीको अन्तिममा २६ अंकसहित अफगानिस्तान रहेको छ । यो वरियता वर्षमा दुई पटक जारी गरिन्छ । सूचकांक पहिलो पटक जनवरीमा र दोस्रो पटक जुलाईमा जारी गरिन्छ ।
हेन्ले पासपोर्ट भिसा सूचकांक वेबसाइट अनुसार, वास्तविक समय डाटा वर्षभरि अद्यावधिक गरिन्छ । भिसा नीतिहरूमा परिवर्तनहरू पनि अपडेट गर्ने गरिन्छ । कुनै देशको राहदानीधारीले भिसा नलिइकन कति देशको यात्रा गर्न सक्छन् भन्ने आधारमा र्याङ्किङ निर्धारण गरिन्छ । यसका लागि अग्रिम भिसा लिनु पर्दैन ।
यस बाहेक धेरै देशहरूले भिसा फ्री यात्राको विकल्प पनि प्रदान गर्छन् । यसको मतलब कुनै निश्चित देशका मानिसहरु भिसा बिना पनि त्यस देशमा जान सक्ने नीतिलाई पनि आधार बनाइने जनाइएको छ ।




