काठमाडौं । संयुक्त अरब एमिरेट्स (यूएई) मा मृत्युदण्ड सुनाइएका २ नेपाली युवा मध्य एक जना नेपाल फर्किएका छन् भने अर्का आउने प्रक्रियामा छन् । ओखलढुंगाको चिसङ्खुगढीका भुवन श्रेष्ठ र धादिङका नेत्रावती ४ का पहलमान थापा मगर नेपाल फर्किएका हुन् ।
उनीहरुले हत्या गरिएका भनिएका पीडित परिवारलाई ब्लडमनी बुझाएर नेपाल फर्किएका हुन् । भुवन र पहलमानलाई नेपालीकै हत्या अभियोगमा युएईको अदालतले दोषि ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको थियो । उनीहरूले नवलपरासीको मध्यविन्दु ११ का बाबुराम आले मगरको हत्या गरेको आरोप छ ।
युएईको कानुन अनुसार पीडित परिवारले अदालतले दिने सजायमा रोज्न पाउँछन् । कसुरदारलाई मृत्युदण्ड नै दिने कि, त्यस बापत रकम तिराउने (ब्लडमनी) भनेर अदालतले पीडित परिवारलाई सोध्छ । भुवन र पहलमानका परिवारको आग्रहपछि मृतक बाबुरामका परिवारले ब्लडमनी स्वीकार गरेका हुन् ।
त्यसपछि दुई परिवारले तीन लाख युएई दिराम बराबरको (एक करोड ८ लाख रुपैयाँ) बुझाएपछि जेलमुक्त गरिएको हो । भुवन नेपाल फर्किसके पनि पहलमान भने अहिले पनि थुनामुक्त भइसकेका छैनन् । उनको पासपोर्टको म्याद सकिएकाले दूतावासले आवश्यक कागजात प्रक्रिया पूरा गरेर केहि दिनमै नेपाल फर्काइदिने तयारी गरेको पहलमानका मामा तेज आले मगरले बताए ।
दुवै परिवारले सहयोग जुटाएर पीडित परिवारलाई गत चैतमा एक करोड ८ लाख रुपैयाँ बुझाएका थिए । २०७६ जेठ २० गतेको झगडामा भुवन र पहलमानले बाबुरामलाई चक्कु प्रहार गरेको आरोप छ । उपचारका लागि लैजाँदै गर्दा बाबुरामको मृत्यु भयो । श्रीमानको मृत्यु हुँदा उनकी पत्नी नरिमा पनि यूएईमै थिइन् ।
पत्नी नरिमा आले मगरले प्रहरीमा जाहेरी दिइन् । उनको जाहेरीपछि प्रहरीले भुवन र पहलमानलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो । अनुसन्धानका क्रममा उनीहरूले पनि हत्या गरेको स्वीकार गरे र अदालतले दोषी ठहर गर्दै सजाए सुनाएको थियो ।
हत्यामा संलग्न दुई परिवारका तर्फबाट मृतक बाबुरामका परिवारलाई ३ लाख यूएई दिराम अभियुक्त दुई परिवारका तर्फबाट बुझाउने सहमति भयो । दुई परिवारले डेढ लाख दिरामका दरले रकम तिर्न तयार भए । उनीहरूको बीचमा २०७९ वैशाख १६ गते सहमति भएको थियो ।
सहमति अनुसार दुई परिवारले मृतककी पत्नी नरिमालाई २१ लाख बढी रकम तत्कालै बुझाए । सहमति भएकै दिन पहलमानको तर्फबाट बुबा एकबहादुरले ५० हजार यूएई दिराम बराबरको नेपाली रुपैयाँ १६ लाख ६२ हजार ५ सय रुपैयाँ बुझाएका थिए ।
भुवनको तर्फबाट दाइ खेमराज श्रेष्ठले ३ लाख रुपैयाँ त्यसै दिन बुझाए । ५० हजार दिराममध्ये बाँकी १३ लाख ६२ हजार ५ सय रुपैयाँ दुई महिनाभित्रमा बुझाउने सहमति भएको थियो । तर उनले रकम जुटाउन सकेनन् ।
त्यसपछि भुवन बचाउ अभियान सुरु भयो । सोही अभियानबाट आवश्यक रकम जुटेपछि दुवै जना नेपाल फर्किने बाटो खुलेको हो । रकम बुझिसकेपछि मृतकका परिवारले कुनै पनि मागदाबी नगर्ने सहमति पत्रमा हस्ताक्षर गरिसकेका थिए ।
यससँगै भुवनका लागि युएईको जेलको ढोका खुल्यो र नेपाल फर्किए । पहलमान पनि छिट्टै फर्किने आशमा उनको परिवार पर्खिबसेका छन् ।




