काठमाडौं । देशका विभिन्न ठाउँमा गएराति अति ठूलो पानी परेको छ । बितेको १२ घण्टामा सिन्धुपाल्चोकको मानेखर्कमा १ सय ४१ मिलिमिटरभन्दा धेरै वर्षा मापन भएको छ । यस्तै सिन्धुपाल्चोककै गुम्थाङ, ढुङ्गे, गोरखाको बारपाक, लमजुङ्गको घरेढुंगा, कुदिबजार लगायतका ठाउँमा पनि अति ठूलो पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले विभिन्न नदीमा पानीको बहाव बढेको भन्दै सावधानी अपनाउन भनेको छ । सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदी तथा यी नदीका सहायक नदीमा बाढीको उच्च जोखिम छ । यस्तै लमजुङको खुदीखोला लगायत आसपासमा, गोरखाको दरौदी खोला लगायत आसपासमा सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।
यस्तै काठमाडौंको धोबीखोला, विष्णुमती नदी, लेले खोला, गोदावरी खोलाको जलसतह पनि बढेको छ । मकवानपुरको लाल बकैया खोल र आसपासमा पनि बिहानसम्मै सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । आज बिहानदेखि काठमाडौं उपत्यका र काठमाडौंभन्दा पूर्वतर्फ धेरैजसो ठाउँमा पानी पर्नेक्रम केही कम भएको छ ।
अहिले गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसैबीच आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहेर लुम्बिनी प्रदेशको एक दुई ठाउँ तथा बाँकी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्ययम वर्षाको सम्भावना छ । यस्तै भरे राती कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा अति ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।




