काठमाडौं । साउनको १५ गते अर्थात खीर खाने दिन । आजका दिन हामीले गाई भैँसीको दूधमा मिल्ने स्थानीय जातका चामल, सख्खर वा चिनी, नरिवल, छोकडा, बदाम, किसमिस, ल्वाङ, सुकुमेल, मरिच र दालचिनी जस्ता मसला मिसाएपछि स्वादिलो र पोषिलो खीर बनाएर खान्छौं ।
साउन १५ मै खीर खाने चलन कसरी चल्यो ?
हरियालीको महिना साउन । वर्षाका कारण खेतबारी वनजंगल जताततै हरियाली हुने गर्छ । प्रशस्त घाँसपात हुने भएकाले गाईभैँसीले प्रशस्त दूध दिन्छन् । गाँउघरमा पहिले पहिले दूध बेच्ने प्रचलन थिएन ।
अब दूधको गर्ने के ? प्रशस्त दूध भएपछि उपयोग त गर्नैपर्यो । मुखको स्वाद फेर्न, असारभरि र साउनको आधाआधीसम्म खेतबारीमा खट्दा लागेको चिसो भगाउन पनि खीर खाने चलन चलेको विज्ञहरुको दाबी छ ।
आयुर्वेद शास्त्रमा खिरमा हालिने वस्तुहरू विशिष्ट औषधीय गुणका छन् । खिरमा ल्वाङ, घ्यू, काजु, नरिवलका टुक्रा, दालचिनी, मरिच, केसर, दाख राख्ने गरिन्छ । ती सबै वस्तुमा औषधीय गुण छ र स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ । खिरले रोग प्रतिरोधात्मक क्षमता बढाउने हुँदा मानव स्वास्थ्यका लागि उपयुक्त मानिन्छ ।
हामी आफ्नो स्वादअनुसारको खीर कुनै पनि बेला घरमा बनाएर खान सक्छौं । साउनमा त अझ खीरको प्रयोग बढी हुने भएकाले यस पटक हामीले स्वादिष्ट खीर कसरी बनाउने भन्ने विधि यहाँ प्रस्तुत गरेका छौं ।
खीर पकाउने आवश्यक सामग्री
– चामल (बासमती वा ताइचिन) : १ कप
– दुध : १ लिटर
– चिनी : १ ठुलो चम्चा
– काजु (टुक्रा पारिएको) : २ सानो चम्चा
– नरिवल (टुक्रा पारिएका) : २ सानो चम्चा
– छोकडा (टुक्रा परिएको) : २ सानो चम्चा
– सुकुमेल : २-३ पिस
– किसमिस : ६-७ पिस
– ल्वाङ : २-३ पिस
– तेजपात : १-२ पात
खीर बनाउने तरिका
– सर्वप्रथम चामललाई केलाएर सफा पार्ने ।
– खीर बनाउन आवश्यक चामललाई पानीले राम्ररी पखाल्ने ।
– चुलोमा मध्यम तापको आगो बाल्ने एक लिटर दुध हालेर डेक्ची बसाल्ने ।
– दुधलाई राम्ररी तात्न दिने ।
– धोएर राखेको चामललाई उम्लिएको दुधमा हाल्ने ।
– धिमे आगोमा दुध र चामल केही मिनेट पाक्न दिने ।
– यसरी दुधमा चामल छड्किन थालेपछि पूर्वतयारी गरेको काजु, नरिवल, ल्वाङ, सुकुमेल, किसमिस, छोकडाको टुक्रा हाल्ने ।
– चिनी, तेजपात पनि हाल्ने ।
– अब सो चमल र सबै मसल गल्ने गरी सानो आगोमा १२-१५ मिनट पकाउने ।
– यसरी तयार भएको खीरलाई चुलोबाट उतार्ने ।
– अब मनतातो अवस्थामा खीर खाने ।
यस्ता छन् फाइदा
साउन महिना झरी पर्ने महिना भएकाले विभिन्न रोगबाट छुटकारा पाउनका लागि पनि दूधबाट बनेको खीर खाने गरिन्छ । रोग प्रतिरोधात्मक क्षमता हुने भएकाले पनि खीर खानु स्वास्थ्यकर छ । झरीको समयमा विभिन्न संक्रामक रोग लाग्ने गर्छ ।
दूध र चामल मिश्रित खीरलाई मात्रा अनुसार मिसाइने चिनी, ध्यु, सुख्खा फल आदिले स्वादिलो र पोषिलो बनाउँछ । चामलमा कार्बोहाइडे«ड पाइन्छ भने दूध क्यासियम र प्रोटिनको राम्रो स्रोत हो ।
चिल्लो ननिकालिएको दूधबाट बनाएको खीरमा पर्याप्त मात्रामा क्यालोरी पाउन सकिन्छ । गाईको दूधबाट बनाएको खीरबाट हामीले भिटामिन ‘ए’ पाउन सक्छौं । खीर बनाउँदा हालिने घ्युले हाम्रो शरीरमा चाहिने फ्याटको मात्रा पूरा गर्छ ।
खीरमा सुख्खा फल मिसाउँदा भिटामिन, मिनरल (खनिज) जस्ता तत्व पाउन सकिन्छ ।
खीर नरम खाना भएकाले चिल्लो निकालिएको वा घ्यु नहालेको खीर बिरामीलाई खुवाउन सकिन्छ । बिरामीले खीर नरम हुने भएकाले सजिलै पचाउन सक्छन् ।
खीर बच्चा, वृद्ध सबैलाई युपयुक्त खानेकुरा हो । तर, दूध र चिनी खान नहुने मान्छेले खीर पनि खानु हुँदैन । ग्यास्ट्रिकका बिरामीले थोरै मात्रामा खान उपयुक्त हुन्छ । पाचान प्रणाली कमजोर भएका बेला चिल्लोरहित दूध र चामलबाट बनेको खीर खुवाउँदा पचाउन सजिलो हुन्छ ।




