वीरगंज । पर्सामा रहेका १४ वटा पालिका र ५२ वटा सरकारी कार्यालय गरी कुल ६६ वटा कार्यालयले गत आव २०८०/८१ मा रु १ अर्ब १४ करोड ६८ लाख ४५२ खर्च गर्न सकेनन् । संघ र प्रदेश सरकारको अनुदान पाएका ती कार्यालयहरूले कुल बजेटको ८.७३ प्रतिशत बजेट खर्च गर्न नसकेको कोष तथा लेखा नियन्त्रक कार्यालय, पर्साले जनाएको छ ।
कार्यालयका अनुसार पर्सा जिल्लाका सबै सरकारी कार्यालयले चालू र पूँजीगत गरी कुल रु १३ अर्ब १३ करोड ७१ लाख ८१ हजार ३६१ बजेट पाएकामा रु ११ अर्ब ९९ करोड ३ लाख ८० हजार ९०८ मात्र खर्च गर्न सके । पर्साका ६६ वटा कार्यालयले कुल चालू अन्तिम बजेट १० अर्ब ५९ करोड ४५ लाख ५० हजार ३६१ मध्ये असार मसान्तसम्म १० अर्ब १२ करोड १६ लाख ८१ हजार ६९१ खर्च गरेका छन् ।
त्यसैगरी, पूँजीगततर्फ कुल २ अर्ब ५४ करोड २६ लाख ३१ हजार बजेट कायम भएकोमा असार मसान्तसम्म १ अर्ब ८६ करोड ८६ लाख ९९ हजार २१७ खर्च गरेका छन् । १४ वटा पालिकामा वीरगंज महानगरपालिका, पोखरिया, पर्सागढी, बहुदरमाई नगरपालिका, कालिकामाई, छिपहरमाई, जगरनाथपुर, जीराभवानी, ठोरी, धोबिनी, पकाहामैनपुर, पटेर्वासुगौली, विन्ध्यवासिनी र सखुवाप्रसौनी गाउँपालिका छन् ।
यस्तै सरकारी कार्यालयहरूमा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंज, जिल्ला अदालत पर्सा, निर्वाचन कार्यालय, जिल्ला सरकारी वकीलको कार्यालय, आन्तरिक राजस्व कार्यालय, गुणस्तर तथा नापतौल कार्यालय, खाद्य आयात–निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय, कृषि औजार अनुसन्धान केन्द्र, श्रम तथा रोजगार कार्यालय लगायत रहेका छन् ।




