रौतहट । चितवन जिल्लाको भरतपुर महानगरपालिका २९ सिमलताल नजिक पहिरोमा परी बेपत्ता भएको गणपती डिलक्स बसमा रही मृत्यु तथा बेपत्ता भएका यात्रुको परिवारलाई राहत लिन जिल्ला प्रशासन कार्यालय रौतहटले सूचना जारी गरेको छ ।
गत असार २८ गते बिहान साढे ३ बजे काठमाडौंबाट रौतहट तर्फ आईरहेको प्रदेश ०३-००१ ख २४९५ नम्बरको गणपती डिलक्स बसलाई अचानक माथिबाट आएको पहिरोले बगाउँदा त्रिशुली नदीमा बगाएको थियो ।
घटना लगतै असार ३१ गते नेपाल सरकारको मन्त्री परिषदले गरेको निर्णय अनुसार घटनामा परी मृत्यु तथा बेपत्ता भएका रौतहटका मृतकको आफन्त पीडित परिवारलाई राहत लिन आउनको लागि जिल्ला प्रशासन कार्यालय रौतहटले आग्रह गरेको हो ।
बसमा सवार रही त्रिशुली नदीमा मृत्यु तथा बेपत्ता भएका यात्रुको नजिकका नातामा पर्ने हकदार आमा, बुबा, दाजु भाई, दिदी बहिनी पती पत्नी, छोरा छोरी लाई जिल्ला प्रशासन कार्यालय रौतहटको आर्थिक प्रशासन शाखाको ९८५५०४४५२७ मोबाईल नम्बरमा सम्पर्क गरेर आउन सिडियो हिरालाल रेग्मीद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।
राहतको लागि आउँदा सम्बन्धित वडाको सिफारिस, मृतकको नागरिकता, मृत्यु दर्ताको फोटोकपी, नाता प्रमाणित, राहत बुझ्नेको नागरिकताको फोटोकपी, कुनै पनि बैंकको चेकबुकको फोटोकपी अनिवार्य लिएर आउनु पर्ने जिल्ला प्रशासन कार्यालय रौतहटद्वारा जारी सूचनामा उल्लेख छ ।
काठमाडौंबाट रौतहट तर्फ आईरहेको गणपती डिलक्स बस र वीरगंजबाट काठमाडौं जाँदै गरेको एनजल ट्राभल्स बस सिमालताल नजिक पहिरोमा परी त्रिशुली नदीमा बेपत्ता हुँदा दुबै बसको गरेर ६५ जना बेपत्ता भएका थिए ।
सो मध्ये केहीको शव बरामद भएको थियो भने केहीको अझै बरामद हुन सकेको छैन । यात्रुसँगै बेपता भएका बसको खोजी गर्न नेपाल र भारतको गोताखोर परिचालित भएपनि सफल हुन सकेन ।




