काठमाडौं । गएरातिदेखि परिरहेको अविरल वर्षाका कारण कैलालीका अधिकांश बस्ती डुबानमा परेका छन् । कैलालीको कान्द्रा नदी र मोहना नदीमा पानीको सतह नाघेपछि अधिकांश बस्ती डुबानमा परेका हुन् ।
कैलालीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक कबिन्द्र बोहराले प्राय: जसो सबै नदी र खोलामा जल सतह स्तरभन्दा माथि पुगेकाले आसपासका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरिएको बताए ।
अहिलेसम्म घोडाघोडी नगरपालिका ९, गौरीगंगा नगरपालिका, गौरीगंगा नगरपालिका ७ र ९ मा गरेर करीब एक दर्जन बढी घर डुबानमा परेको प्रारम्भिक विवरण प्राप्त भएको छ । यता लगातारको वर्षाले महाकाली नदीमा पानीको सतह बढ्दै गएपछि आसपासका नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार रातिदेखि परिरहेको लगातारको वर्षाका कारण अहिले महाकाली नदीमा जलसतह खतराको तह पार गर्ने तर्फ बढ्दै गएको देखिन्छ ।
महाशाखाका अुनसार अहिले महाकाली नदीको जलसतह ६.४०६ क्यूसेक छ । यो ७ मा पुग्यो भने खतराको तह पार हुन्छ । त्यस्तै पर्साको पसाहा खोलमा पनि पानीको सतह बढ्दै गएको महाशाखाले जनाएको छ ।
कर्णाली राजमार्ग अवरुद्ध
अविरल वर्षाले कर्णाली राजमार्ग अवरुद्ध भएको छ । सुर्खेत–जुम्ला सडक खण्ड अन्तर्गत गएराती आएको अविरलले कालिकोट जिल्लाको एसमोड र हुल्ममा पहिरो जाँदा आज बिहानैदेखि राजमार्ग पुर्णरुपमा अवरुद्ध भएको सडक डिभिजन कार्यालय जुम्लाका सुचना अधिकारी वीर बहादुर जिटीले जानकारी दिए ।
त्यस ठाउँमा आएको बाढी पहिरोले बन्द भएका सडक खुलाउने काम भइरहेको छ । छिटोभन्दा छिटो सडक सञ्चालनमा आउनेगरी काम भइरहेको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी जिटीको भनाइ छ । विशेष गरी वर्षाले कर्णाली राजमार्गअन्तर्गत कालीकोट खण्डको दहीखोला, गगनेखोला, एसमोड र हुल्ममा बारम्बार पहिरो जाने गरेको छ ।
यी जोखिम ठाउँहरुमा सडकको स्तरउन्नती सम्बन्धि निकायको ध्यान जान नसक्दा बर्षेदेखि कर्णालीका आम नागरिकले दुख पाउने गरेका छन् । सडक बन्द हुँदा जुम्ला, मुगुबाट सुर्खेत, नेपालगन्ज र काठमाडौ जाने सवारीसाधन बिच बाटोमा रोकिदा सयौं यात्रुहरू अलपत्रमा परेका छन् ।




