काठमाडौं । काठमाडौंको बागमती नदी गौरीघाट जल मापन केन्द्रमा जल सतहले सतर्कता तह पार गरेको छ । पानी बढ्दो क्रममा रहेकाले तटीय क्षेत्रमा रहने र बागमती कोरिडोर भई यात्रा गर्नेहरुले उच्च सतर्कता अपनाउनु पर्ने भएको छ ।
आगामी ३ दिन कोशी, नारायणी, कर्णाली र यसका सहायक नदीहरुका साथै कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जल सतह सतर्कता तह तलै रहे पनि उल्लेख्य बढ्ने पूर्वानुमान छ ।
महाकालीमा जल सतह सतर्कता तह नजिक रहेकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन सरकारले अनुरोध गरेको छ । मंगलबार रातिदेखि परिरहेको अविरल वर्षाका कारण कैलालीको कान्द्रा नदी र मोहना नदीमा पानीको सतह नाघेपछि कैलालीका अधिकांश बस्ती डुबानमा परेका छन् ।
प्रायः सबै नदी र खोलामा जल सतह स्तरभन्दा माथि पुगेकाले आसपासका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरिएको छ । जिल्लाका अधिकांश बस्ती जलमग्न र डुबानमा छन् ।
अहिलेसम्म घोडाघोडी नगरपालिका ९, गौरीगंगा नगरपालिका, गौरीगंगा नगरपालिका ७ र ९ मा गरेर करिब एक दर्जन बढी घर डुबानमा परेको प्रारम्भिक विवरण प्राप्त भएको छ ।




