काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आफ्नो ३९ औं वार्षिकोत्सव नेपाल प्रज्ञा प्रतिष्ठानमा एक भव्य कार्यक्रमका साथ मनाएको छ । ‘एलपी ग्याँस छोडौं, विद्यूतीय चुलो जोडौं’ भन्ने नारासहित मनाइएको यो कार्यक्रमले भव्यता पाएको भएपनि, त्यहाँ पत्रकारहरूको उपस्थिति भने न्यून देखियो ।
कार्यक्रममा ठूला ठूला फ्लेक्स बोर्डहरू, ‘धुँवा ध्यानिबिहीन स्वस्थ सवारी, अब घर घरमा बिजुली गाडी’ जस्ता नाराले सजिएका ब्यानरहरू, र ‘मैले त बिजुली चुलो जोडेँ, सस्तो, सजिलो, छिटो र सुरक्षित पनि तपाईंले नि’ भन्ने सन्देशसहितका ब्यानरहरू झुन्ड्याइएका थिए ।
साथै, कार्यक्रममा सहभागीहरूलाई प्राधिकरणको वार्षिक क्रियाकलाप समेटिएका ४/५ केजी तौलका ३ वटा किताबहरू वितरण गरियो । डिजिटल युगमा प्रवेश गरेको आजको दिनमा प्राधिकरणले फ्लेक्स बोर्ड, ब्यानर र किताब प्रकाशनमा लाखौं रुपैयाँ अनावश्यक रूपमा खर्च गरेको देखिन्छ ।
ती किताबहरूको कागज, साजसज्जा र लेआउट हेर्दा प्रति किताब ३ हजारदेखि ३५ सय रुपैयाँसम्म खर्च भएको अनुमान गर्न सकिन्छ । यस्तो खर्च गर्दा कार्यक्रमका उपस्थित कर्मचारी र सहभागीहरूले मात्र सूचना पाउने भएपनि आम सर्वसाधारणले भने यसबाट लाभ लिन सकेका छैनन् ।
विद्युत प्राधिकरण जस्तो महत्वपूर्ण संस्थाको वार्षिकोत्सवको सूचना सञ्चार माध्यमहरूमा उपलब्ध नगराइनु गम्भीर कुरा हो । यसले सर्वसाधारणलाई सूचनाबाट बञ्चित गराएको छ, किनभने कार्यक्रम स्थलमा सर्वसाधारणको उपस्थिति कमै हुन्छ ।
प्राधिकरणले सूचना प्रवाह गर्न छापा माध्यम, रेडियो, टेलिभिजन, अनलाइन जस्ता सञ्चार माध्यमको प्रयोग गर्नुपर्ने हुन्छ, तर केही वर्षयता प्राधिकरणले सर्वसाधारणलाई जानकारी गराउनु पर्ने सूचना सञ्चार माध्यमहरूमा दिन बन्द गरेको छ ।
यसलाई हेर्दा प्राधिकरणभित्रका भ्रष्टाचार र अन्य विकृति लुकाउनका लागि सञ्चार जगतलाई टाढा राखिएको हुन सक्छ । प्राधिकरणको वार्षिकोत्सवको सूचना कुनै सञ्चार माध्यममा सार्वजनिक नगराइनुले पनि यस विषयमा शंका उत्पन्न गर्छ ।
पत्रकारहरूले प्राधिकरणभित्रका भ्रष्टाचार र विकृति उजागर गर्दा, प्राधिकरण नेतृत्वले पत्रकारहरूसँग दूरी बनाएको हुन सक्छ । विद्युत प्राधिकरणका उच्च तहका कर्मचारीहरूको सम्पत्ति छानबिन गर्दा काहाली लाग्दो अवस्था देखिन्छ ।
त्यस्तै, कर्मचारीहरूको लागि गाडी, इन्धन, पोशाक, भत्ता, बिजुली सुविधामा पनि अत्यधिक खर्च भइरहेको छ । प्राधिकरणले विद्युत वितरणका लागि आवश्यक खम्बा, तार, ट्रान्समिटर बक्स, सबट्रान्समिटर बक्स आदिमा भएको अनियमितता पनि सञ्चार माध्यममा आइरहेको छ ।
ठूला ठेक्काहरू प्राधिकरणका उच्च तहका कर्मचारीहरूले आफ्ना आसेपासेलाई दिएर ठूलो मात्रामा कमिसन लिएको आरोप पनि लागेको छ । वार्षिकोत्सव सकिएपछि केन्द्रीय कार्यालय रत्नपार्क परिसरमा ठूला ठूला फ्लेक्सबोर्ड, ब्यानर र रंगरोगन गरेर फजुल खर्च गरेको देखिन्छ, जसले आम सर्वसाधारणको गम्भीर ध्यानाकर्षण गराएको छ ।




