काठमाडौं । हेटौंडा-काठमाडौं जोड्ने छोटो दुरीको २ वटा सडक अवरुद्ध भएको छ । हेटौँडा–काठमाडौं जोड्ने कान्ति लोकपथ र हेटौँडा–कुलेखानी–सिस्नेरी–फर्पिङ सडक खण्ड अवरुद्ध भएको हो ।
सोमबार दिउँसोको भारी वर्षाका कारण सडक माथिबाट खसेको लेदोका कारण हेटौँडा–कुलेखानी–सिस्नेरी–फर्पिङ सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार उक्त सडक खण्डअन्तर्गत इन्द्रसरोबर गाउँपालिका वडा नम्बर ३ रामचन्द्र भन्ज्याङमा सडक माथिबाट लेदो खस्दा बाटो पूर्ण रूपमा अवरुद्ध भएको छ ।
उक्त स्थानमा पनि प्रहरी र सडक डिभिजनको टोलीले सडक खुलाउने कार्य गरिरहेको उनले बताए । यता भिमफेदी गाउँपालिका वडा नम्बर ८ महादेवटारस्थित कान्तिलोकपथमा वर्षाका कारण लेदो खसी बाटो पूर्ण रूपमा अवरुद्ध भएको छ ।
अपराह्न ४ बजेपछि बाटो अवरुद्ध भएको हो । बाटो अवरोध भएको खबर पाउनासाथ इलाका प्रहरी कार्यालय ठिंगनबाट खटिएको प्रहरी टोलीले सडक विभाग र फास्ट ट्र्याकसँग समन्वय गरी पहिरो पन्छाउने काम गरिरहेको छ ।




