काठमाडौं । काठमाडौं महानगरपालिकाले श्री केश तेल उत्पादक कम्पनी सप्तऋषि ओएल एन्ड कस्मेटिक इण्डष्ट्रीलाई दुई लाख रुपैयाँ जरिवाना गरेको छ । गुणस्तर परीक्षणमा असफल भएपछि यो कारबाही गरिएको महानगरपालिकाका निरीक्षण अधिकृत डा. अवधेश झाले जानकारी दिएका छन् ।
महानगरपालिकाले असार ७ गते तेलको गुणस्तर बारे गुनासो आएपछि आवश्यक विवरण माग गरेको थियो । प्राप्त विवरणका आधारमा प्राविधिक विश्लेषण प्रतिवेदन तयार पारिएको थियो, जसले तेलको गुणस्तर पुष्टि गर्न नसकेको निष्कर्ष दिएको थियो । झाका अनुसार, सोही प्रतिवेदनका आधारमा कम्पनीलाई जरिवाना गरिएको हो ।
माग गरिएको विवरणमा तेलमा प्रयोग हुने कच्चा पदार्थको फर्मुलेसन र रेसिपी मेथडका प्राविधिक विवरण उल्लेख गरिएको कागजात पेस गरिएको थिएन । साथै, कारखानामा स्टाण्डर्ड अपरेसन प्रोसिड्युर (एसओपी) को अभिलेख समेत भेटिएन, जसले गर्दा गुड म्यानुफ्याक्चरिङ प्राक्टिस (जिएमपी) नअपनाइएको देखिएको प्रतिवेदनमा उल्लेख छ ।
सप्तऋषि इण्डष्ट्रीले आफ्नो उत्पादनमा आइओइएस प्रमाण पत्रको नाम प्रयोग गरेको पाइयो, जुन नियमअनुसार मान्य छैन । तेलमा प्रयोग हुने सम्पूर्ण कच्चा पदार्थ र जडीबुटीहरूको प्रयोगशालामा परीक्षण गरिएका प्रतिवेदन अपूरा पेस गरिएका थिए । सबै उत्पादनमा एउटै ब्याच नम्बर राखिएको पाइयो, जसमा प्रयोग भएका केही कच्चा पदार्थको म्याद पनि पुरा नपुग्दै कम देखिएको थियो ।
तेलको लेबलमा उल्लिखित तत्त्वहरू र परिमाणको पुष्टि गर्ने कुनै सरकारी वा अन्य निकायको प्रमाणित कागजात प्राप्त भएन । लेबलमा उल्लेख गरिएका फाइदाहरू, जस्तै कपाल नझर्ने, नयाँ कपाल उमार्ने, र चायाँ रोक्ने जस्ता दावीहरू पुष्टि हुने क्लिनिकल ट्रायल, प्रयोगशाला विश्लेषण, वा जर्नलमा प्रकाशित प्रमाण भेटिएन, जसले गर्दा यी दावीहरू भ्रम सिर्जना गर्ने खालका भएको प्रतिवेदनले देखाएको छ ।
कम्पनीले उपलब्ध गराएको प्रयोगशाला प्रतिवेदनहरूमा क्रमशः सूक्ष्म जीवाणु परिमाण (माइक्रोबायोलोजिकल लोड, टोटल प्लेट काउन्ट) बढ्दै गएको देखिएको छ । कपाल उमार्ने भनेर स्वघोषित गरिएको ‘मिनोक्साइडिल’ नामक रासायनिक तत्त्व भने उत्पादकले प्रदान गरेको परीक्षण प्रतिवेदनमा समावेश गरिएको थिएन ।
कच्चा पदार्थ तथा जडीबुटीहरूको मिश्रण गर्दा प्रयोग अवधि (३ वर्ष) सम्म कुनै हानिकारक तत्त्वमा परिणत नहुने प्रमाणित प्रतिवेदन र कच्चा पदार्थको सम्मिश्रणले मानव स्वास्थ्यमा असर नपर्ने प्राविधिक र वैज्ञानिक पुष्टि हुने कुनै विश्लेषण प्रतिवेदन पनि कम्पनीले उपलब्ध गराएको थिएन ।
तेलको उपभोग्य-प्रयोग अवधि (३ वर्ष) कसरी र कुन आधारमा राखिएको हो भन्ने प्रमाण पनि प्राप्त भएन । तेलमा प्रयोग भएका जडीबुटीहरूको मात्रा यकिन गर्ने गुणस्तरीय विधि र तिनले मानव स्वास्थ्यमा असर गर्ने-नगर्ने सम्बन्धी कुनै पनि दस्ताबेज इण्डष्ट्रीले उपलब्ध गराउन सकेन ।
महानगरपालिकाले अब यस विषयलाई सङ्घीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, औषधि व्यवस्था विभाग, र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा पठाउने निर्णय गरेको छ ।




