काठमाडौं । अमेरिकाको टेक्सस राज्यको ह्युस्टनमा २१ वर्षीया नेपाली छात्रा मुना पाण्डेको हत्या आरोपमा पक्राउ परेका व्यक्तिको परिचय स्थानीय प्रहरीले खुलासा गरेको छ । ह्युस्टन प्रहरीले बिहीबार राति ५१ वर्षीय बब्बीसिंह शाहलाई हत्या आरोपमा पक्राउ गरिएको जानकारी दिएको हो ।
यसअघि प्रहरीले मुना पाण्डे बस्ने अपार्टमेन्टबाट बाहिरिंदै गरेको एक व्यक्तिको सीसीटीभी फुटेज सार्वजनिक गरेको थियो, जसलाई शाहको रूपमा पहिचान गरिएको छ । यद्यपि, शाहको ठेगाना र हत्याको कारण अहिलेसम्म सार्वजनिक गरिएको छैन । ह्युस्टन प्रहरीले शाहलाई बुधबार राति ८ बजे ट्राफिक स्टपको क्रममा पक्राउ गरेको हो ।
गत सोमबार साँझ मुना पाण्डे आफ्नै अपार्टमेन्ट, वेस्ट एयरपोर्ट बुलेभार्ड, ह्युस्टनमा गोली लागेको अवस्थामा मृत फेला परेकी थिइन् । नेपालिज एसोसिएसन अफ ह्युस्टनका द्रोण गौतमले पाण्डे तीन वटा गोली लागेर ओछ्यानमा मृत अवस्थामा भेटिएको बताएका छन् ।




