काठमाडौं । पश्चिम नेपालको थारु बाहुल्य जिल्लाहरुमा अट्वारी पर्व धूमधामका साथ मनाइँदैछ । यो पर्वमा थारु समुदायका पुरुषहरूले व्रत बस्ने परम्परा रहेको छ । अट्वारी पर्वको अवसरमा लुम्बिनी प्रदेश सरकारले थारु समुदायको बसोवास रहेका ६ जिल्लामा सार्वजनिक बिदा समेत घोषणा गरेको छ ।
अट्वारी पर्वको तयारी हरितालिका तीजपछिको शनिबार मध्यरातमा दर (भिन्सर्या) खाएर सुरु हुन्छ । यो पर्व दुई दिनसम्म मनाइन्छ, र थारु समाजमा यस पर्वसँग सम्बन्धित विभिन्न धार्मिक विश्वास र मान्यताहरु रहेका छन् । कथन अनुसार द्वापर युगमा पाँच पाण्डवमध्ये भीमले थारु समुदायकी एक छोरीलाई अन्यायबाट मुक्ति दिलाएको सम्झनामा यो पर्वमा भीमको नाममा व्रत बस्ने र पूजा गर्ने चलन छ ।
अर्काे मतानुसार, भीमले थारु राजा दंगिशरणलाई युद्धमा सहयोग गरेकोमा कृतज्ञतास्वरूप उनको पूजा गरिने परम्परा रहिआएको छ । राजा दंगिशरणले शत्रुमाथि विजय प्राप्त गरेको दिनदेखि हरेक वर्ष अट्वारी पर्वमा भीमको पूजा गरिन्छ भन्ने थारु समुदायको विश्वास रहेको छ ।
अट्वारी पर्वमा दाजुभाइहरूले दिदीबहिनीको रक्षाको कामना गर्दै दिनभर निर्जल व्रत बस्छन् । व्रत बसेका व्यक्तिहरूले फलफूललगायत परिकार खानुपूर्व आफ्ना खानाबाट आधा हिस्सा अलग राख्ने चलन छ । छुट्याइएको भाग विवाहित छोरीचेलीलाई उपहारस्वरूप पठाइन्छ ।
तर, पछिल्लो समय यस्ता परम्परागत संस्कृतिहरू लोप हुने स्थितिमा पुगेको छ । थारु कल्याणकारीणी सभा दाङ क्षेत्र नं. १ का पूर्व अध्यक्ष चेतराम चौधरीले यस पर्व तथा संस्कृतिको संरक्षणका लागि प्रयास आवश्यक रहेको बताएका छन् ।
लुम्बिनी प्रदेश सरकारले दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रुपन्देही र नवलपरासी पश्चिममा सार्वजनिक बिदा दिएको छ, ताकि थारु समुदायले अट्वारी पर्व मनाउन सकून् ।




