काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको भ्रष्टाचार मुद्दामा ४ जना दोषी ठहर भएका छन् । विशेष अदालतका न्यायाधीश टेकनारायण कुँवर, तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले हिजो ४ जनालाई दोषी ठहर गरेको हो । यस्तै विशेष अदालतले ११ जनालाई सफाइ दिएको छ ।
विशेष अदालतले मेलम्ची आयोजना सम्बन्धी भ्रष्टाचार मुद्दामा तत्कालीन सचिव गजेन्द्र ठाकुर, तत्कालीन कार्यकारी निर्देशक रामचन्द्र देवकोटा, सूर्यराज कँडेल तथा परामर्शदाता इप्टिसाका टिम लिडर शिवकुमार शर्मालाई दोषी ठहर गरेको हो ।
पूर्वसचिव भीम उपाध्याय, सञ्जय शर्मासहित ११ जनाले सफाइ पाएका हुन् । कसुर ठहर भएकाको हकमा अदालतले असोज ७ गते सजाय निर्धारण गर्ने अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले बताए ।
आयोजनाको विभिन्न प्रकृति र चरणमा अनियमितता भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८० साल फागुन ६ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । परामर्शदातासहित ४ कम्पनीलाई बिगो कायम गरिएको छ ।




