काठमाडौं । ६० किलो सुन तस्करी मामिलामा संलग्न १० अभियुक्तलाई सर्वोच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठ र टेकप्रसाद ढुङ्गानाको इजलासले शुक्रबार उनीहरूलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएका अभियुक्तहरूको निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चको इजलासले यस निर्णयलाई उल्ट्याउँदै धरौटीमा रिहा गर्न आदेश गरेको हो ।
सर्वोच्चको पेसी सूचीमा अभियुक्तहरूको तल्लो तहको आदेशलाई बदर गर्दै धरौटीमा रिहा गर्नुपर्ने जनाइएको छ । सर्वोच्च अदालतका प्रवक्ता अचुतप्रसाद कुइँकेलले धरौटी रकमको यकिन हुन बाँकी रहेको जानकारी दिएका छन् ।
यो मुद्दा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धानको आधारमा २०८० असोज १ गते जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले दायर गरेको थियो । मुख्य अभियुक्त चिनियाँ नागरिक दावाजिन वाङसहित २९ जनाविरुद्ध संगठित अपराधसहितका पाँचवटा अभियोग लगाइएको छ ।
अभियुक्तहरूविरुद्ध करिब तीन अर्ब ५० करोड ३१ लाख रुपैयाँ बिगो, कैद, र जरिवाना माग गरिएको छ । तस्करीका अभियुक्तहरूमा कुमार ढकाल, हर्कराज राई, रामकुमार भुजेल, सरोज श्रेष्ठ, दिलीप भुजेल, राजेन्द्रकुमार राई, सन्तोष चन्द, टाँसी (थुप्तिन छिरिङ), र शिवकुमार सर्राफ रहेका छन् ।




