काठमाडौं । बिहिबारदेखि लगातार परेको वर्षाले देशभरको जनजीवन अस्तव्यस्त भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मनसुनी वायुको प्रभाव जारी छ ।
भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीका कारण देशका अधिकांश स्थानहरूमा बादल लागेर हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
बिहिबार रातिदेखि सुरु भएको लगातारको वर्षा आज मध्यान्हपछि केही सुधार आउने अपेक्षा गरिएको छ । जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी विभूति पोख्रेलले जानकारी दिँदै मध्याह्नपछि मौसममा सामान्य सुधार हुने बताइन् ।
उनका अनुसार मौसम पूर्ण रूपमा सुधार हुन अझै केहि समय लाग्नेछ । ‘मौसममा केहि सुधार देखिएपनि पूर्ण रूपमा सफा हुने छैन । भोलिसम्म पनि हल्का वर्षा हुने सम्भावना छ,’ पोख्रेलले भनिन् ।




